रूद्र श्रीसमगर

पोखरा, पुस १३ – नेपाल मगर सांस्कृतिक संघ कास्कीले मगर संघ युकेका उपाध्यक्ष अनिता रानामगर र सल्लाहकार कुमार रानामगरलाई पोखरामा स्वागत गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई स्वागत गरिएको हो । त्यसैगरी, सोही अवसरमा सांगीतिक कार्यक्रमका लागि हङकङ जान लागेकी संघकी जिल्ला सदस्य लोक तथा दोहोरी गायिका चिना थापामगरलाई बिदाइ समेत गरियो ।
भेटघाट, स्वागत एवं बिदाइ कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले कुनै पनि कार्यक्रमको आयोजना गर्दा नयाँ तरिकाले गर्नुपर्नेमा जोड दिनुभयो । समयलाई चिन्न सकेमा मात्र प्रगति गर्न सकिने भन्दै उपाध्यक्ष थापामगरले कलाकार र पत्रकारलाई एकै ठाउँमा भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘कलाकार र पत्रकारलाई आज एकै ठाउँमा भेट्न पाएकोमा असाध्यै खुशी छु’, थापामगरले भन्नुभयो, ‘सबैले समयलाई चिनेर अघि बढ्न जरुरी देख्छु, यसका लागि मगर कलाकारको पनि ध्यान जानुपर्यो ।’
मगर संघ युकेकी उपाध्यक्ष अनिता रानामगरले आफूलाई स्वागत गरेकोमा संघप्रति आभार व्यक्त गर्दै बाध्यतावश युकेमा गएर बस्नुपरे पनि नेपालकै माया भएको बताउनुभयो । ‘हामीलाई मगर कलाकारले स्वागत गर्नुभयो, यसका लागि आभारी छौं’, उपाध्यक्ष रानामगरले भन्नुभयो, ‘सकभर सबै ठाउँका मगर कलाकारलाई विदेश भ्रमणबाट वञ्चित गरिन हुन्न भन्नेमा हामी सचेत छौं, त्यसैले हामी पोखरासम्म आइपुगेका हौं ।’ विदेश भएका सबै संघसंस्थाले नेपालका कलाकार र पत्रकारलाई भ्रमणको अवसर दिनुपर्ने बताउँदै रानामगरले मगर संघ युकेले आयोजना गर्ने एक मात्र कार्यक्रम बुद्ध नेपाली ओपन कन्सर्ट भएको र त्यसमा सीमित कलाकारले मात्र अवसर पाउने बाध्यता रहेको बताउनुभयो ।
त्यस्तै, मगर संघ युकेका सल्लाहकार कुमार रानामगरले विश्व भूमण्डलीकरणको असर संस्कृतिमा पर्दै गएको बताउँदै मगर जहाँ रहेपनि मगर संस्कृतिलाई भुल्न नहुनेमा जोड दिनुभयो । ‘संविधान संशोधन प्रस्तावले मगरहरूको क्लस्टर मिलाएको छ’, रानामगरले भन्नुभयो, ‘यसको हामी सबै स्वागत गर्नुपर्छ ।’ युकेमा ४०/४५ हजार मगरहरूको बसोबास गर्ने भन्दै रानामगरले मगरको मौलिक संस्कृतिको विश्वभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
हङकङ जान लागेकी लोक तथा दोहोरी गायिका चिना थापामगरले आफूलाई सम्मानसहित बिदाइ गरेकोमा संघप्रति धन्यवाद व्यक्त गर्नुभयो । हङकङमा गएर संघको प्रतिष्ठा कायम राख्ने भन्दै गायिका थापामगरले सक्दो राम्रो गर्ने प्रयास गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगर, मौलिक कौह्रा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, लोक तथा दोहोरी गायक कुमार पुनमगर, नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष एवं म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगरलगायतले बोल्नुभएको थियो ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र स्वागत सदस्य वसन्ती थापामगरले गर्नुभएको थियो ।
