रूद्र श्रीसमगर

पोखरा, पुस ११ – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं चार नम्बर प्रदेशका इञ्चार्ज देव गुरुङले साम्राज्यवादसँग नलडी समाजवादी क्रान्तिको लक्ष्य पूरा नहुने बताउनुभएको छ ।
१२४ औं माओ जयन्तीका अवसरमा सोमबार पोखरामा नेकपा (माओवादी केन्द्र) कास्कीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले साम्राज्यवाद र विस्तारवादसँग नलडेसम्म समाजवाद सम्भव नभएको विचार व्यक्त गर्नुभयो । ‘साम्राज्यवादसँग नलडीकन समाजवादी क्रान्ति पूरा हुँदैन’, गुरुङले भन्नुभयो, ‘देशभित्रका साम्राज्यवाद र विस्तारवादका दलाल घरेलु प्रतिक्रियावादीलाई पराजित नगर्दासम्म समाजवादको सपना पूरा हुन सक्दैन ।’
‘विश्व साम्राज्यवादले एकाधिकार वित्तीय पुँजीवादमार्फत् तेस्रो विश्वका मुलुकहरूमा नवउपनिवेश कायम गरेको छ’, उहाँले भन्नुभयो, ‘अब मुलुक नवऔपनिवेशिक चरणमा प्रवेश गर्यो, भलै, अर्धऔपनिवेशिक अवस्थाका केही अवशेष पनि अझै बाँकी छन् ।’ घरेलु प्रतिक्रियावादीमार्फत् साम्राज्यवादी शक्तिले नेपालमा हालीमुहाली गरिरहेको भन्दै नेता गुरुङले साम्राज्यवादलाई परास्त गर्न राष्ट्रिय मुक्ति आन्दोलन जरुरी रहेको बताउनुभयो ।
चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिका महान् नेता माओकै विचारमा टेकेर नेपालमा जनयुद्ध भएको स्मरण गर्दै नेता गुरुङले पार्टीको कार्यदिशा र रणनीतिबारे नयाँ संश्लेषणको आवश्यकता औंल्याउनुभयो । ‘अब पूरानै तरिकाले हुँदैन, नयाँ संश्लेषणको जरुरी छ’, गुरुङले भन्नुभयो, ‘निरन्तर क्रान्तिको सिद्धान्तको जगमा टेकेर नयाँ आर्थिक उत्पादन सम्बन्धका आधारमा नयाँ संश्लेषण जरुरी भइसक्यो ।
नेपाली समाजको वर्गीय स्वरुपमा समेत पूरै परिवर्तन भएको भन्दै नेता गुरुङ नयाँ आधारमा वर्ग विश्लेषण गरेर मात्रै क्रान्तिको मार्गचित्र कोर्न सकिने धारणा राख्नुभयो । ‘अब माओका योगदानको पनि समृद्धिकरणको जरुरी छ’, गुरुङले भन्नुभयो, ‘समृद्धिकरणमार्फत मात्रै माओवादको रक्षा र विकास हुन सक्छ ।’ सच्चा क्रान्तिकारी कम्युनिष्टहरू र देशभक्तहरू एक नभएसम्म माओवादी लक्ष्य पूरा हुन नसक्ने बताउँदै उहाँले राष्ट्रिय औद्योगिक पुँजीवादको विकास नभएसम्म समाजवादी क्रान्तिको आधार तयार नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य यशोदा सुवेदी ‘प्रभा’ले पनि देश नवऔपनिवेशिक अवस्थामा प्रवेश गरेको जिकिर गर्नुभयो । ‘यतिखेर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादद्वारा खडा गरिएका दलालविरुद्धको लडाइँ पेचिलो बन्दै गएको छ’, नेतृ प्रभाले भन्नुभयो, ‘सामन्तको मूल पहाड राजतन्त्रको अन्त्य गर्न सफल भयौं, तर, क्रान्तिका बाँकी कार्यभार पूरा भएका छैनन् ।
राष्ट्रिय स्वाधीनताको आन्दोलन प्रमुख बनेर आएको भन्दै नेतृ प्रभाले राष्ट्रियताका सन्दर्भमा मुद्दा मिल्नेहरूसँग सहकार्य र कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । माओवादी दर्शन जीवनवादी दर्शन भएको भन्दै नेतृ प्रभाले माओवादी दर्शनलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘माओका आदर्शलाई पार्टी जीवनमा लागू गर्नैपर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो, ‘निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गनुपर्दछ ।
त्यस्तै, पोलिटब्यूरो सदस्य अमर गुरुङले माओवादी पार्टी क्रान्ति पूरा नभै विशिष्ट सम्झौतामा आएको उल्लेख गर्नुभयो । ‘हामी क्रान्ति पूरा नभइ विशिष्ट सम्झौतामा आएका हौं’, नेता गुरुङले भन्नुभयो, ‘एउटा चरणमा हामी विजयी भएकै हौं, अहिले पनि हामी सम्झौताकै चरणमा छौं ।’ पार्टीको एकता महाधिवेशनबाट विचारमा नयाँ संश्लेषणका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै गुरुङले नयाँ आधारमा नयाँ एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की संयोजक राजकाजी गुरुङ ‘करण’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सदस्य दीपक कोइराला ‘रुपक’ र अर्का जिल्ला कार्यालय सदस्य रामजी बराल ‘जीवन’ले स्वागत गर्नुभएको थियो ।
