रूद्र श्रीसमगर
पोखरा, पुस २ – नेपाल मगर विद्यार्थी संघ कास्कीले यही पुस ९ गते शनिबार पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वसुन्धरापार्कमा वनभोज कार्यक्रम तथा पुनर्मिलन कार्यक्रम गर्ने भएको छ ।
शनिबार सम्पन्न बैठकले वनभोज कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष दिनेश रोकामगरले जानकारी दिनुभयो । साथै, बैठकले संगठन विस्तारलाई निरन्तरता दिने निर्णय गरेको छ । संघले हालसम्म राष्ट्रिय मावि, कालिका पब्लिक कलेज र जनप्रिय माविमा समिति विस्तार गरिसकेको छ ।
बैठकमा संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर, केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज समर थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका पूर्व सचिव प्रेम रोकामगरलगायतले मगर विद्यार्थी संघलाई अगाडि बढाउन र संघको आसन्न नवौं राष्ट्रिय महाधिवेशन सफल बनाउन सम्पूर्ण मगर विद्यार्थीहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको बैठकको सञ्चालन सह–सचिव पवन रोकामगरले गर्नुभएको थियो ।
