कवि केबी नाम्जाली भुरुङ मगरको ५० औं जन्मजयन्ती मनाइयो !

Read Time:3 Minute, 17 Second

रूद्र श्रीसमगर

Image may contain: 3 people, people standing

पोखरा, पुस २ – मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको ५० औं जन्मजयन्ती शनिबार पोखरामा मनाइयो ।

जन्मजयन्ती विशेष कार्यक्रममा मगर लेखक एवं साहित्यकारहरूले कवि भुरुङको साहित्यिक योगदानको चर्चा गरे । उनीहरूले मगर भाषा, साहित्यमा अल्पायुमै आफ्नो जीवन गुमाएका कवि भुरुङको अभाव खट्किएको बताए ।

मगर भाषा प्रतिष्ठान, नेपालका अध्यक्ष लोकबहादुर थापामगरले कवि भुरुङ प्रगतिशील साहित्यकार भएको उल्लेख गर्नुभयो । ‘उनी प्रगतिवादी कवि थिए’, थापाले भन्नुभयो, ‘मगर साहित्यमा उनको अभाव खट्किएको छ ।’ थोरै कृति लेखेपनि कवि भुरुङ अब्बल दर्जाको मगर कवि भएको थापाको भनाइ थियो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषा, साहित्यको विकासमा मगर साहित्यकार एवं लेखकहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । ‘मगर लेखक, साहित्यकारहरूको कलमले मगर समुदायलाई जागृत गराउन महत्वपूर्ण योगदान गरेको छ’, रानाले भन्नुभयो, ‘मगर कवि भुरुङलाई गुमाउनुपर्दा हामीलाई अभाव महसुस भइरहेको छ ।’ मगर भाषा, साहित्यको उत्थानका लागि मगर संघ सधैं सहयोग गर्न तत्पर रहेको रानाको भनाइ थियो ।

कवि भुरुङकी धर्मपत्नी शशी थापामगरले भन्नुभयो, ‘जन्मजयन्ती भन्दा खुशी लाग्छ, तर, श्रद्धाञ्जली भन्ने बित्तिकै आँखा रसाउँछ ।’ आफूले केही गर्न नसके पनि मगर भाषा प्रतिष्ठानले सधैं सम्झिदिएकोमा धन्यवाद दिँदै उहाँले मगर समाजमा उहाँले राखेको कीर्ति सम्झँदा जीवनसाथी गुमाउनुपर्दाको पीडा भुल्ने कोसीस हुने बताउनुभयो ।

कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक क्या. नरेश थापामगरले धेरै ठूलो रकमको अक्षयकोष राख्न नसकिएपनि हरेक दुई वर्षमा नेपालभरिकै मगर स्रष्टाहरूमध्ये एक जनालाई सम्मान गर्दै जाने बताउनुभयो । ‘हाम्रो भाञ्जा बाबुलाई गुमाउनुपर्दा हामी दुःखी त अवश्य छौं, तर, उहाँको मगर साहित्यिक योगदान अमर छ’, क्या. थापाले भन्नुभयो, ‘प्रतिष्ठानले कवि भुरुङको योगदानलाई सम्झना गरिरहेकोमा हामी अत्यन्त खुशी छौं ।’

मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष यामबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %