काठमाडौँ, १८ चैत
जनताले संविधान लेख्न पठाएका सभासद्हरू संविधान लेख्नुको साटो तोडफोड र कुर्सी फालाफालमा उत्रिनुले जग हँसाउने काम भएको छ ।
संवैधानिक समितिको आजको बैठकमा आफ्नो भनाइको सुनुवाइ नभएपछि दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुने सभासद् विश्वेन्द्र पासवानले आक्रोशमा आई चार तला माथिबाट कुर्सी फालेर बैठकको ध्यानाकर्षण गराएकाछन ।
बैठकको प्रारम्भदेखि नै उभिएर सभासद् पासवान र अर्का सभासद् सदरुल मियाँ हकले नयाँ बन्ने संविधानमा दलित र मुसलमानका मुद्दालाई सम्बोधन हुने व्यवस्था गर्न माग गरिरहेको र बैठकले त्यसलाई बेवास्ता गरेर अन्य विषयमा केन्द्रित भएपछि झोक्किँदै बैठकको ध्यानाकर्षण गराउन सभासद् पासवानले कुर्सी फालेका हुन ।
दुई घन्टा चलेको आजको बैठकभर सभासद्द्वय पासवान र हक पूरै समय उभिएर बिताएका थिए ।
प्रमुख तीन नेताहरू संविधान लेखनलाई भन्दा पार्टीको कामलाई प्रमुखता दिँदै संविधान लेखन कार्यलाई बेवास्ता गरी ओझेलमा पार्ने काम गरिरहेकाले जनताका सामू अब सभासद्हरू कुुर्सीमा बस्न नसुहाउने ठहर गर्दै बैठकमा उभिएर भनाइ राख्नुपर्ने बाध्यता आइपरेको र यसले संविधान लेखनका लागि दबाब सिर्जना गर्ने आफ्नो ठम्याइ रहेको सभासद् पासवानले बताए ।
बैठकपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले जनाताको दुहाई दिने पक्षबाटै दलित, उपेक्षित र मुसलमान समुदायको माग सुनुवाइ नभएकाले माओवादी पक्षबाट आएको अभिव्यक्तिबाट आक्रोशित भएर आपूmले कुर्सी फालेको बताए ।
सञ्चारकर्मीको प्रश्नको जवाफमा सभासद् पासवानले भने – ‘एक थरीले बन्दुक उठाएर मान्छे मार्न हुने, मैले संविधान लेख्नका लागि दबाब दिन शान्तिपूर्ण ढङ्गले कुर्सी फाल्न नहुने ?, अब हामी कुर्सीमा बसेर होइन उभिएर संविधान लेख्ने बेला भइसकेको छ ।’
समितिका सभापति नीलाम्बर आचार्यले बैठकको ध्यानाकर्षण गराउने क्रममा व्यवहार असामान्यजस्तो देखिए पनि त्यसलाई चर्काउने काम गर्न नहुने प्रतिक्रिया दिए ।
समितिका सदस्य सीपी मैनालीले हामी लोकतान्त्रिक अभ्यासमा छौँ, ठूला दलले साना दलको कुरा सुन्नुपर्छ, बैठकको ध्यानाकर्षण गर्ने क्रममा कुर्सीसम्बन्धी घटना भएको हो, यो घटना स्वाभाविक र नियमित कार्यभित्र पर्दैन भने ।
अर्का सदस्य डा प्रकाशचन्द्र लोहनीले संविधान लेखनसम्बन्धी कार्य सशक्तरूपले छलफल भइरहे पनि ठूला तीन दलभित्रको वैचारिक तालमेल नमिल्दा अनेकौँ समस्या देखिने गरेको बताए ।
सभासद् पासवानले सिंहदरबार परिसरस्थित व्यवस्थापिका–संसद सचिवालय भवनको चारतला माथिको भ्mयालबाट फालेको कुर्सी टुक्राटुक्रा भएको छ ।
समितिको अर्को बैठक यही चैत २२ गते मङ्गलबार बिहान ८ बजे बस्नेछ ।