रूद्र श्रीसमगर
पोखरा, पुस १ – मिलन फाउण्डेशन नेपालको सहयोगमा ६ जना आँखाका बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । फाउण्डेशनको आयोजनामा मंगलबार पर्वतको देउपुरमा भएको एक दिने निःशुल्क आँखा शिविरबाट आँखाको शल्यक्रियाका लागि पोखरा ल्याइएका ६ जनाको हिमालय आँखा अस्पताल, पोखरामा सफल शल्यक्रिया सम्पन्न भएको छ ।
हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोग र अम्मर–हाइसुबा शैक्षिक प्रतिष्ठान, देउपुरको व्यवस्थापनमा देउपुर–१, मैदानस्थित जननेत्र माविको प्राड्डणमा भएको शिविरमा २ सय ९ जनाले निःशुल्क आँखा जाँच गराएका थिए । तीमध्ये ६ जना मोतियाबिन्दु तथा जलबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गराउने अवसर पाएका हुन् । आँखाको शल्यक्रियापछि पाँच जना आँखाका बिरामी घर फर्केका छन् भने एक जनाको उपचारका लागि थप केही दिन लाग्ने भएको फाउण्डेशनकी कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका मिलन’ले जानकारी दिनुभयो ।
आँखाको निःशुल्क शल्यक्रिया गराउने अवसर पाउनेहरूमा पर्वतको देउपुर–२ की ६४ वर्षीया मैतीशोभा परियार, देउराली–७ की ७१ वर्षीया आइतीशोभा परियार, देउराली–४ का ८२ वर्षीय दलबहादुर पुन, देउपुर–५ का ५९ वर्षीय डिल्लु भारती, देउराली–२ की ७१ वर्षीया विष्णुमाया परियार र देउराली–७ की ६५ वर्षीया गौमती परियार रहनुभएको छ । शिविरमा आँखा जाँच गराएकालाई निःशुल्क चश्मा र औषधी समेत वितरण गरिएको थियो ।
आँखा शल्यक्रियापछि प्रतिक्रिया दिँदै ८२ वर्षीय दलबहादुरले भन्नुभयो, ‘पहिले सबै धमिलो देख्थें, अप्रेशनपछि स्पष्ट देखेको छु ।’ फाउण्डेशनले नबिर्सिने गुन लगाएर संसार देखाइदिएको भन्दै ७१ वर्षीया विष्णुमायाले भन्नुभयो, ‘विभिन्न कारणले आँखाको जाँच गराउन पाएकी थिइनँ, यस्तो बेला शिविर आउनु त हाम्रो लागि भगवान आएझैं भयो बाबु ।’ बिरामीका कुरुवा सचिन परियारले मिलन फाउण्डेशनले आँखा नदेख्ने अवस्थामा पुगेका वृद्धवृद्धाको आँखाको ज्योति फर्काइदिएर ठूलो गुन लाएको बताउनुभयो ।
आँखाको शल्यक्रियापछि खुशी बनेका वृद्धवृद्धाहरूले फाउण्डेशनका पदाधिकारी एवं सदस्यहरूसँग सामूहिक तस्वीर समेत खिचाए । सो अवसरमा फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी गुरुङ, सल्लाहकार एवं कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङ, कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका मिलन’, कार्यसमिति सदस्यहरू सरस्वती क्षत्री, कृष्णकला केसी, गौरी गुरुङ र धनु गुरुङको उपस्थिति थियो ।
अस्पतालमा भएको सम्पूर्ण खर्च मिलन फाउण्डेशन नेपाल आफैंले व्यहोरेको हो भने बिरामी पोखरासम्म ल्याउन र लैजान फाउण्डेशनका कार्यसमिति सदस्य सरस्वती क्षत्री र समाजसेवी नारायण क्षत्रीले सहयोग गर्नुभएको थियो । आँखा शिविरका लागि फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ र अध्यक्ष गंगा गुरुङले सम्पूर्ण खर्चको व्यवस्था गर्नुभएको थियो ।
