गोबिन्द घर्ती
मंसीर २५ । माघ १३ गते देखि २४ गते सम्म रुपन्देहीको देवदहमा संचालन हुने तेश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७३ सम्पन्न गर्न राजनैतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । देवदह व्यापार संघले महोत्सवको पुर्व तयारी अन्तर्गत आयोजित सर्वदलिय, सर्वपक्षीय अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देवदहमा लाग्दै आएको राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव देवदह क्षेत्रको पहना भएकोले महोत्सव सम्पन्न गर्न सवै लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दल, व्यापारिक संस्था र विभिन्न संघसंस्थाहरु मिलेर जाने हो भने महोत्सवलाई सफल पार्न सकिनेमा जोड दिएका थिए । उनीहरुले महोत्सवमा देवदह क्षेत्रमा रहेका ऐतिहासिक पर्यटकीय स्थल, कृषि, व्यापार, संस्कृतिलाई बढि प्राथमिकता दिनु पर्ने बताउदै स्टल वितरण गर्दा सोही अनुरुप गर्न आग्रह गरेका थिए । देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्गको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, देवदह नगर समितिका सभापति गुणाखर भुर्तेल, माअोवादी केन्द्रका जिल्ला सदस्य मोतीलाल ढकाल, माओवादी क्रान्तिकारीका ऋषिराम लामिछाने, राप्रपाका केन्द्रिय पार्षद माधव रिमाल, नया शक्ति नेपाल लिलाधर मरासिनी, राष्ट्रिय जनमोर्चाका हरी केसी, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, उद्योग व्यापार संगठनका अध्यक्ष गोविन्द ठड्राईले बोलेका थिए ।
त्यसैगरी देवदह साप्ताहिकका सम्पादक राम बहादुर गुरुङ्ग, रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल, उपसमिति संयोजक विष्णु पौडेल, प्रगति सामुदायिक वनका चमकान्त गौडेल, वावुराम वस्नेत, जीवलाल पराजुली लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा संघका अध्यक्ष गुरुङ्गले मेला महोत्सवको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रथम उपाध्यक्ष ठाकुर प्रसाद गौतमको स्वागत र महासचिव माधव ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
