निजामती सेवामा आदिवासी जनजातिको पहुँच बढाउनु आवश्यक छ : गुरुङ !

Read Time:4 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, मंसिर २४ – आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले निजामती सेवामा आदिवासी जनजातिहरूको पहुँच बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिष्ठानको सहयोगमा नेपाल मगर संघ कास्कीद्वारा सञ्चालित आदिवासी जनजातिका निम्ति निःशुल्क लोक सेवा आयोग ना.सु. तयारी कक्षाको शुक्रबार उद्घाटन गर्दै उपाध्यक्ष गुरुङले शासन र प्रशासनमा पहुँच नपुगेसम्म आदिवासी जनजातिको उत्थान नहुने उल्लेख गर्नुभयो । ‘हामी पैसाका पछि दौडिरहेका छौं’, गुरुङले भन्नुभयो, ‘पैसा भन्दा ठूलो इज्जत, प्रतिष्ठा हो, त्यो कुरा हामी स्वदेशमै केही गर्न सके मात्र पाउन सक्छौं ।’

आदिवासी जनजातिले वैदेशिक रोजगारी मात्र ताक्ने गरेको उल्लेख गर्दै गुरुङले स्वदेशमै केही गर्ने सोंचको विकास नभएसम्म आदिवासी जनजाति समुदायको अवस्थामा परिवर्तन नआउने बताउनुभयो । नेपाल सरकारले आदिवासी जनजातिलगायतका विभेदमा पारिएका अन्य समुदाय र वर्गका लागि आरक्षणको समेत व्यवस्था गरेको बताउँदै गुरुङले अवसरको सदुपयोग गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । ‘हामीले देशव्यापी रूपमा पाँचै विकास क्षेत्रमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘यो सुवर्ण अवसरलाई आदिवासी जनजाति विद्यार्थीहरूले सही सदुपयोग गर्नु जरुरी छ ।’


प्रतिष्ठानका कार्यकारी सदस्य एवं नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगरले नेपालको निजामती सेवामा आदिवासी जनजाति समुदायको पहुँच बढाउन प्रतिष्ठानले तयारी कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो । ‘हामीले आदिवासी जनजाति समुदायको शासन र प्रशासनमा पहुँच खोजिरहेका छौं’, पुनमगरले भन्नुभयो, ‘प्रशासनमा पहुँच पुर्याउन यो तयारी कक्षा एउटा सुनौलो अवसर हो ।’ कक्षामा सहभागिताका लागि आवेदन दिएका विद्यार्थीहरूलाई कक्षामा निरन्तर उपस्थित हुन आग्रह गर्दै उहाँले राज्यले गरेको लगानीलाई खेर जान दिन नहुनेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमु धिं नेपालका द्वितीय उपाध्यक्ष एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष भीमबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगर र सह–सचिव संगीता पुनमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %