काठमाडौँ, १६ चैत
संयुक्त जनमोर्चा नेपालको सिरहामा यही चैत १०, ११ र १२ गते सम्पन्न प्रथम राष्ट्रिय भेलाले १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
भेलाले पार्टीको घोषणापत्र, विधान र प्रस्तावहरू पारित गर्दै डा भरत लामिछानेको अध्यक्षतामा ४४ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको थियो ।
पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लामिछानेले घोषणाको सार प्रस्तुत गर्दै लोकतन्त्रका पक्षधर, देशभक्त तथा वामपन्थीहरूले स्थानीय स्वशासनका आधारमा अर्धसङ्घात्मक लोककल्याणकारी राज्य व्यवस्था स्थापना गर्नु नै अहिलेको सही निकास भएको बताए ।
संयुक्त जनआन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नु अहिलेको मुख्य कार्यभार हो भन्दै उनले त्यसका लागि अग्रगामी संविधान आगामी जेठ १४ गतेभित्रै जारी गर्नुपर्ने बताए ।
प्रतिगामी, विखण्डनकारी र बाह्य हस्तक्षेपकारी तत्वहरूका कारण नयाँ र अग्रगामी संविधान जारी हुने स्थिति छैन भन्दै उहाँले लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता र जनजीविकाको आन्दोलनलाई अघि बढाउन यतिबेलाको प्रमुख कार्य हुन गएको बताए ।