रूद्र श्रीसमगर
पोखरा, मंसिर १८ – गत कात्तिक २४ गते भएको आगलागीबाट जलेर नष्ट भएको पोखरा–९, लखनचोक,बसपार्कस्थित पोखरा हङकङ बजारका स्टलको पुनर्निर्माणपछि हस्तान्तरण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच बजारका अग्निपीडित व्यापारीहरूलाई पुनर्निर्मित स्टल हस्तान्तरण गरिएको हो ।

सो अवसरमा बोल्दै पोखरा उपमहानगरपालिका वडा नं.९ का सचिव लोकदर्शन कोइरालाले सरकारी तवरबाट आफूहरूको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बेलाबखतमा आगलागी एवं हावाहुरीबाट समेत बजारलाई खतरा रहेको भन्दै कोइरालाले विपद् व्यवस्थापनका लागि स्थानीय प्रशासन समेत तयारी अवस्थामा रहनुपर्ने अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी मिनी मार्केट व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर कार्की, चिप्लेढुंगा मिनी मार्केटका संरक्षक रत्न कार्की, जय प्लाष्टिक स्टोर्सका परशुराम तिवारी, आगलागी पीडित सुशीला विक, कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रूद्र खनाल, पोखरा हङकङ बजार व्यवस्थापन समितिका संरक्षक राजकुमार सुवेदी,पोखरा हङकङ बजारका सञ्चालक मिलन तिवारी, सस्तो बजार व्यवस्थापन समितिका अध्यक्ष केशव भुजेललगायतले आगलागीबाट करोडौंको क्षति हुँदा पनि राज्यका तर्फबाट कुनै किसिमको सहयोग नपाएको गुनासो गरेका थिए ।
पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार सुनारले जिल्ला प्रशासन कार्यालयमा गएर गुहार माग्दा पनि आगलागी पीडितलाई खाली आश्वासन मात्रै दिइएको गुनासो गर्नुभयो । ‘आगलागीबाट करिब पाँच करोडको क्षति भयो’, अध्यक्ष सुनारले भन्नुभयो, ‘हामीले धेरैपटक प्रशासनमा गुर्हायौ, आश्वासन त पायौं तर, केही सहयोग भएन ।’ आफैं बजारका साना व्यापारीहरू मिलेर स्टलको पुनर्निर्माण गरिएको बताउँदै सुनारले सरकारी तवरबाट भनेजस्तो सहयोग नहुँदा दुःख लागेको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन पोखरा हङकङ बजार व्यवस्थापन समितिका सचिव काशीराम पौडेलले गर्नुभएको थियो ।
