रूद्र श्रीसमगर
पोखरा, मंसिर १४ – प्रधानमन्त्री प्रचण्डले मधेश र आदिवासी जनजाति समुदायका मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
‘मधेश र आदिवासी जनजाति समुदायलाई चित्त नबुझाएसम्म संविधान सर्वस्वीकार्य बनाउन सकिन्न’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संविधान संशोधन गरेर चुनावको दिशामा अघि बढ्नु सरकारको प्रमुख दायित्व हो ।’ संविधान संशोधन गरी चुनावी वातावरण तयार गर्ने काममा सघाउन पत्रकारहरूलाई आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका सकारात्मक कामको प्रचार गरिदिन आग्रह गर्नुभयो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री राम कार्की ‘पार्थ क्षत्री’ले नियमसम्मत तरिकाबाट सरकारी सञ्चारमाध्यममा पत्रकारहरू नियुक्ति गरिने जानकारी दिँदै आफूले नेपाल टेलिकममा रोकिएको नतिजा प्रकाशित गरेर करिब पाँच सय जनालाई रोजगारी सिर्जना गर्न सफल भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुसाल ‘विभूति’ले पार्टीले गरेका गल्ती औंल्याइदिन र सकारात्मक कामको प्रचार गरिदिन आग्रह गर्दै सरकारलाई सफल पार्न सिंगो पार्टी पंक्ति कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा अध्यक्ष महेश्वर दाहालले संगठनको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम एवं सांगठनिक योजना बैठकले आवश्यक छलफलसहित पारित गरेको छ । साथै, बैठकले विभिन्न विभाग समेत गठन गरेको छ भने देशव्यापी अन्तरक्रिया एवं प्रशिक्षण गर्ने र नेपाल पत्रकार महासंघको आसन्न चुनावमा केन्द्रित हुने निर्णय पनि गरेको छ । बैठकमा सात वटै प्रदेश अध्यक्ष र प्रतिष्ठान अध्यक्षले रिपोर्टिङ गरेका थिए । बैठकमा महासचिव विष्णु सापकोटाले पनि बोल्नुभएको थियो ।
