चितवन (रत्ननगर), १४ चैत
चितवनको शक्तिखोरमा परीक्षा दिइरहेको अवस्थामा नक्कली सात लडाकु परीक्षार्थी निष्कासित भएका छन् ।
तेस्रो डिभिजनका सात लडाकु परीक्षार्थी आज निष्कासित गरिएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ ।
पृथ्वी उच्च मावि जुटपानी केन्द्रमा हिजो गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रमा नक्कली फोटो टाँसेर अर्कै व्यक्तिले परीक्षा दिइरहेकाले उनीहरुलाई निष्कासित गरिएको केन्द्राध्यक्ष गङ्गा गुरुङले जानकारी दिए ।
निष्कासित भएकाहरुको सिमबोल नम्बर १३४०२०२, १३४०२०४, १३४०२०७, १३४०२१०, १३४०२११, १३४०२२३ र १३४०२२४ रहेका छन् । उनीहरुको नाम भने सार्वजनकि गरिएको छैन । यहाँको परीक्षा केन्द्रमा ४६ जना लडाकु परीक्षामा सामेल भएका छन् ।
यस विषयमा केन्द्रीय परीक्षा केन्द्रमा समेत जानकारी गराइसकेको निमित्त जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद पौडेलले वताए ।