बागलुङ–पोखरा मगर समाजको देउसी भैलो विशेष कार्यक्रम सम्पन्न !

Read Time:3 Minute, 45 Second

रुद्रबहादुर श्रीसमगर

पोखरा,कात्तिक २१ – बागलुङ–पोखरा मगर समाजले २०७३ सालको तिहार पर्वका अवसरमा देउसी भैलो कार्यक्रम शनिबार सम्पन्न गरेको छ । सांस्कृतिक पर्व तिहारको मान्यतालाई कायम राख्दै संस्कृति बचाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष मेखबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

 कार्यक्रममा बोल्दै समाजका संस्थापक अध्यक्ष दलबहादुर थापाले समाजलाई अघि बढाउन सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो । बागलुङे मगरहरू जहाँ रहेपनि आफ्नो स्थानीय मगर संस्कृतिको संरक्षण र भाइचाराका लागि एकजुट हुनु आवश्यक रहेको बताउँदै थापाले निकट भविष्यमा नै समाजको भवन निर्माणका लागि जग्गा खरिद गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

समाजका सल्लाहकार संयोजक एवं नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष भीमबहादुर श्रीसले मगर जातिको अधिकार अझै पनि प्राप्ति नभइसकेको बताउँदै राजनैतिक रुपले सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजलाई अघि बढाउन आफ्नो संगठन सहयोग गर्न तत्पर रहेको बताउँदै नेता श्रीसले राजनैतिक अधिकार प्राप्त नभएसम्म भाषा, धर्म र संस्कृतिको विकास हुन नसक्ने बताउनुभयो ।

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसले सबैको जातीय पहिचान सुरक्षित गर्नु अहिलेको चुनौती रहेको भन्दै मगर जातिले पनि आफ्नो जातीय पहिचान जोगाउन अग्रसर रहनुपर्नेमा जोड दिनुभयो । म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनले मगर जाति सांस्कृतिक रुपले अत्यन्त धनी समुदाय रहेको भन्दै मौलिक सांस्कृतिक पहिचान जोगाइराख्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।

समाजका अध्यक्ष मेखबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कृष्णा पुन र सल्लाहकार कृष्णाकुमारी श्रीसले स्वागत गर्नुभएको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती झल्कने नृत्य प्रस्तुत गरिएका थिए । एक दिने देउसी भैलो विशेष कार्यक्रमबाट ९० हजार रुपैयाँ संकलन भएको छ ।

यसैबीच, समाजको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारणसभा आगामी मंसिर ४ गते हुने भएको छ । अधिवेशनका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको र अधिवेशनका अवसरमा एसएलसी तथा उच्च शिक्षामा विभिन्न शैक्षिक उपाधि प्राप्त मगरहरूलाई सम्मान समेत गरिने सचिव गजेन्द्र थापाले जानकारी दिनुभयो । अधिवेशनको प्रमुख अतिथि भने निश्चित भइ नसकेको सचिव थापाले बताउनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %