माया घले मगर
इजरायल, नोभेम्बर ५ – बिदेशको रोजगार कसलाई पो रहर हुन्छ र ? तर बाध्यता र विवशताले देशमा भन्दा बिदेशमा नेपाली युवाले आफ्नो पसिना बगाइरहेका छन् । त्यसैले धेरैको चाहना बिदेशमा केही वर्ष बसेर केही रकम आर्जन गर्ने र आफ्नै देशमा केही गर्ने हुन्छ ।
यस्तै यथार्थलाई आत्मसात गर्दै पाल्पाकी लक्ष्मी भट्टराईले ८ वर्ष इजरायलमा बसेर कमाएको पैसा लगानी गरेर पाल्पाकै तानसेनमा होस्टल व्यवसाय शुरु गरेकी छन् । इजरायलमा नेपाली लाख रुपैयाँभन्दा बढकिो तलब आउने काम छाडेर लक्ष्मी अहिले आफ्नै प्रयासमा व्यवसायलाई अघि बढाउने र नेपालमै केही गर्ने सोचका साथ गत फागुनदेखि नेपालमै बसेर काम शुरु गरेकी हुन् ।
यसै सोचलाई अघि बढाउँदै उनले तानसेनमा ‘बसन्तपुर ब्वाइज होस्टल’ शुरु गरेकी हुन् । विशेष गरी तानसेनमा रहेका विधार्थी, शिक्षक, कर्मचारीलाई सस्तो, गुणस्तरीय र सहज सेवा उपलब्ध गराउने उद्देश्य राखेर होस्टल शुरु गरेको लक्ष्मी बताउँछिन ।
‘कतिपय अवस्थामा कर्मचारी तथा विधाथहिरु कोठा नपाएर तथा अन्य कारणले समस्यामा परेको देखिन्छ । यस्तो समसया नहोस र सहज सेवा उपलब्ध गराउने उद्देश्यले होस्टल सञ्चालन गरेका हौं’ उनले भनिन । होस्टलमा ११ वटा कोठा छन भने करीब ४५ जनासम्मले स्तरीय सेवा लिन सक्ने पूर्वाधार बनाइएको छ ।
होस्टलमा बस्नेहरुका लागि शुद्ध सन्तुलित भोजन, कार्पोटिङ गरिएका कोठा तथा प्रत्येक कोठामा टेलिभिजनको व्यवस्थाका साथै २४ सै घण्टा सित्तैमा वाइफाई सुविधा, चिसो–तातो पानीको व्यवस्थासमेत गरिएको छ । यसका साथै शान्त र सुरक्षित वातावरण रहेको होस्टलमा बस्नेहरुका लागि नियमित परामर्श तथा मनोरम र पारिवारिक वातावरण उपलब्ध हुने लक्ष्मीले जानकारी दिइन । होस्टलमा समूहमा आउनेका लागि विशेष छुट दिइने पनि लक्ष्मीले बताइन ।
‘होस्टल तानसेनमै गुणस्तरीय र न्यून शुल्कमा सञ्चालन हुने पहिलो होस्टल बनाउने हाम्रो तयारी छ । होस्टल एक–दुई महिना बस्न चाहनेदेखि लामो समयसम्म बस्न चाहने सबैका लागि उपयुक्त गन्तब्य हुने अपेक्षा राखेका छौं’, लक्ष्मीले भनिन । लक्ष्मीलाई होस्टल सञ्चालनका लागि उनका श्रीमान केशवराज भट्टराइको साथ र सहयोग छ ।
तानसेनमा होस्टलको आवश्यक परेमा ९८२१९८५६११, ०७५–५२२१०३, ९८४७५२४४८७ मा सम्पर्क गर्न सकिने पनि लक्ष्मीले जानकारी दिइन ।
