काठमाडौँ, १३ चैत
राष्ट्रपति डा रामवरण यादवले बुद्धधर्म अभ्यास र यसका विविध उपलब्धिहरू विषयक अन्तर्राष्ट्रिय गोष्ठीको आज यहाँ एक समारोहबीच उद्घाटन गरे ।
त्रिभुवन विश्वविद्यालयको नेपाल एसियाली अध्ययन केन्द्र (सिनास) र भारतीय संस्कृति सम्बन्ध परिषद््द्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा बुद्धधर्मको दर्शन, परम्परागत अभ्यास र आधुनिक समयमा यसको आवश्यकताका विविध पक्षबारे छलफल गरिनेछ ।
सो अवसरमा राष्ट्रपति डा यादवले बुद्ध भगवानले प्रतिपादन गर्नुभएको प्रेम, सद्भाव, शान्ति र अहिंसाको सन्देश अहिले पनि नेपाल र विश्वमा आवश्यक रहेको बताए ।
नेपालमा जन्मेका बुद्धले नेपाल र भारतको क्षेत्रबाट आफ्नो ज्ञान र सन्देशको प्रकाश छर्नु भएको र बुद्धधर्मजस्तो ठूलो धार्मिक दर्शन मानवीय हितका लागि सदैव उपयोगी रहेको राष्ट्रपति डा यादवको धारणा थियो ।
शान्ति, विकास र भयरहित समाजका लागि बुद्ध सन्देशको मूलमर्म रहेको बताउँदै राष्ट्रपति डा रामवरण यादवले नेपालमा शान्ति र प्रजातान्त्रिक संविधानको मार्गचित्र कोर्न बुद्धका सन्देश हाम्रा लागि अझ सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।
दुईदिने सो सम्मेलनमा नेपाल, भारत, थाइल्याण्ड, दक्षिण कोरिया, बर्मा, जापान, श्रीलङ्का, भुटानलगायत एसियाका विभिन्न देशका बौद्ध भिक्षु, प्राज्ञ, अनुसन्धानकर्ता र यसमा संलग्न व्यक्तिहरूको सहभागिता रहेको आयोजक समिति नेपालका संयोजक डा रमेश ढुङ्गेलले बताए ।
कार्यक्रममा बुद्धधर्म दर्शन, परम्परागत अभ्यास र यसका बुहपक्षका बारेमा १७ वटा कार्यपत्र प्रस्तुत गरिनेछ भने एसियाका विभिन्न देशमा बुद्धधर्मका क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता र प्राज्ञहरूबीच विचारको आदानप्रदान गरिने बताइएको छ ।
सम्मेलनले नेपालमा जन्मेको भनेर बुद्धको सन्देशको प्रचार गरी आधुनिक समाजमा यसको उपयोगिताबारे छलफल गर्न मद्दत पुग्ने त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा सूर्यलाल अमात्यले बताए ।
भारतीय संस्कृति सम्बन्ध परिषद््का योगेश्वर बर्माले परिषद््ले गर्दै आएका कामबारे प्रकाश पार्दै बुद्धको ज्ञान, सन्देश र शिक्षाको उपयोगिता अभिवृद्धि गर्न यसप्रकारको सम्मेलनले मद्दत गर्ने विश्वास व्यक्त गरे ।
्कार्यक्रममा सिनासका डा यज्ञ अधिकारी, डा रमेश ढुङ्गेल र भारतीय राजदूत राकेश सुदले बुद्धधर्म
दर्शनको बहुपक्षबारे सम्मेलनमा हुने छलफल फलदायी हुने धारणा राखेका थिए ।