रूद्र श्रीसमगर
पोखरा, कात्तिक ११ – नर्वेजियन संस्था द ओस्लो सेन्टरले नेपालमा बन्न लागेको राजनीतिक दलसम्बन्धी कानूनको विधेयकबारे कास्कीका विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनहरूसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
बिहीबार पोखरामा भएको कार्यशाला गोष्ठीमा सहभागी राजनीतिक दलका युवा संगठनका प्रतिनिधिहरूले राजनीतिक स्थिरतका लागि थ्रेस होल्ड राख्नुपर्ने, अनुगमन गर्ने गरी राज्यकोषबाट राजनीतिक दललाई अनुदान दिनुपर्ने, विविधतालाई प्रतिविम्बित गर्ने गरी प्रादेशिक दल खोल्न पाउनुपर्ने, राजनीतिक दलको उम्मेदवार मनोनयन प्रक्रियामा भाषा समावेश गर्नुपर्नेलगायतका सुझाव राखेका थिए ।
गोष्ठीमा प्राप्त सुझावलाई संकलन गरी विभिन्न राजनीतिक दलका युवा संगठनहरूका प्रतिनिधिहरूको हस्ताक्षरसहित व्यवस्थापिका–संसद्को राज्य व्यवस्था परामर्श समितिमा बुझाइने द ओस्लो सेन्टरकी नेपाल कार्यक्रम संयोजक दिप्ती खकुरेलले जानकारी दिनुभयो । सो अवसरमा द ओस्लो सेन्टरकी कार्यक्रम निर्देशक सिसिलिया बिलेसोले सहजीकरण गर्नुभएको थियो भने नागरिक संवाद केन्द्र, गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले स्वागत गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीमा नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दल, नेकपा (एमाले)सम्बद्ध युवा संघ नेपाल, नेकपा (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग (वाईसीएल), राप्रपा नेपालसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपाल, संघीय समाजवादी फोरम नेपालसम्बद्ध समाजवादी युवा फोरम नेपाल, राष्ट्रिय जनमोर्चासम्बद्ध अखिल नेपाल युवक संघ, नयाँ शक्ति नेपालसम्बद्ध युवा शक्ति नेपाल, नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध क्रान्तिकारी युवा लिग नेपाल र नेकपा माओवादीसम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवकका प्रतिनिधि सहभागी थिए ।
नर्वेजियन पूर्व प्रधानमन्त्री क्जेल म्याग्नी बोन्देभिकले सन् २००६ मा स्थापना गरेको द ओस्लो सेन्टरले हाल नेपालसहित सोमालिया, केन्या, दक्षिणी सुडान, बर्मा, युक्रेन र किर्गिज गणतन्त्रमा शान्ति, लोकतन्त्र र मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।
यसअघि, पोखरामा बुधबार राजनीतिक दलसम्बन्धी विधेयकका बारेमा राजनीतिक दलआबद्ध महिला संगठनहरूका प्रतिनिधिहरूसँग कार्यशाला गोष्ठी भएको थियो ।
