रूद्र श्रीसमगर
पोखरा, कात्तिक ११ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्वत् ११३७ तथा छठका अवसरमा नेकपा (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अमर गुरुङले सामाजिक सद्भाव कायम गराउन सांस्कृतिक पर्वहरूको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो ।
दलहरूबीचको एकताबाटै संविधान कार्यान्वयन सम्भव रहेको भन्दै नेता गुरुङले मधेशी, आदिवासी जनजातिलगायतका समुदायका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१० का वडा सभापति कृष्णबहादुर थापा, नेकपा (एमाले)का वडा प्रतिनिधि पुण्यप्रसाद तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष जयराम आचार्य, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ, टोल विकास संस्था महिला समन्वय समितिका अध्यक्ष निर्मला कार्की भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० का अध्यक्ष रामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्य बानियाँ र स्वागत कार्यक्रम संयोजक हिमालय बख्रेलले गर्नुभएको थियो ।
माओवादी केन्द्र वडा कमिटीले बुधबार पोखरा रंगशालादेखि अमरसिंहचोकसम्म बृहत सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको थियो । साथै, माओवादी केन्द्र वडा कमिटी पोखरा–१० ले यही कात्तिक १३ गते पोखरा औद्योगिक क्षेत्र सरसफाइ गर्ने तयारी गरेको कार्यक्रम संयोजक बख्रेलले जानकारी दिनुभयो ।
