रूद्र श्रीसमगर
बागलुङ, कात्तिक ७ – जनशान्ति युवा क्लब, तंग्राम–९, फापरखेत, बागलुङद्वारा नेपालीहरूको महान् चाड बडा दशैं तथा कोजाग्रत पूर्णिमाका अवसरमा आयोजित ‘कोजाग्रत पूर्णिमा मेला–२०७३’ सकिएको छ ।

प्रतियोगितामा ३० टिम सहभागी भएका थिए । त्यस्तै, वडास्तरीय महिला भलिबल प्रतियोगितामा भदौरे मेला व्यवस्थापन समिति, अर्गल–१, सिलेले द रियल टाइगर ग्रुप, अमरभूमि–६, भुस्काटलाई पराजित गर्दै उपाधि कब्जा गर्न सफल रह्यो । उपाधिसँगै भदौरेले १० हजार नगद पुरस्कार हात पार्न सफल भयो भने उपबिजेता द रियल टाइगरले पाँच हजार नगद पुरस्कार प्राप्त गर्यो ।
मेला अन्तर्गत आयोजित एकल नृत्य प्रतियोगितामा धम्जा–२, असौजेकी तारा थापा प्रथम भइन् । त्यस्तै, असौजेकै प्रवीणा रोका द्वितीय भइन् भने लेखानी, कादेशकी स्मृति श्रीस तृतीय र तंग्राम–९, फापरखेतकी गौरी पुन सान्त्वना भइन् । प्रतियोगितामा किशोर थापा, हुमन कान्छा मगर र रूद्रबहादुर श्रीस निर्णायकका रूपमा रहेका थिए । त्यसैगरी, घैंटो फोर प्रतियोगितामा शिव पुन विजयी भए ।
मेलामा लोक तथा दोहोरी गायक नवीन राना, किशोर थापा, हुमन कान्छा मगर, मन रोकामगर, प्रदीप बोहोरालगायतले सांगीतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण पुन, वडा नागरिक मञ्च, तंग्राम–९, फापरखेतका संयोजक थमन पुन, तंग्राम गाविसकी सामाजिक परिचालक शान्ति पुन, गीतकार रनबहादुर पुन ‘रुबेन’, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसलगायतले बोल्नुभएको थियो ।
यसअघि, मेलाको उद्घाटन राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाले गर्नुभएको थियो । क्लबका अध्यक्ष लक्ष्मण पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष पुनले गर्नुभएको थियो ।
