ठूलाथरको दशैं पूर्णिमा लघु महोत्सव सम्पन्न !

Read Time:2 Minute, 59 Second

रूद्र श्रीसमगर

गलकोट, कात्तिक ७ – संगम युवा क्लब, हरिचौर–३, ठूलाथर, गलकोट, बागलुङको ३४ औं वार्षिकोत्सव तथा नेपालीहरूको महान् चाड बडा दशैंका अवसरमा आयोजित ‘दशैं पूर्णिमा लघु महोत्सव–२०७३’ सम्पन्न भएको छ ।
 
महोत्सव अन्तर्गत आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक संगम युवा क्लब ए प्रथम हुन सफल भयो । उपाधिसँगै आयोजक संगमले ३५ हजार नगद पुरस्कार जित्न सफल भयो । भने ३–२ को सेटमा आयोजकसँग फाइनलमा पराजित देउराली युवा क्लब, हिलले उपबिजेतामा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै, वडास्तरीय भूपू पुरुष भलिबल प्रतियोगितामा आयोजक संगमलाई हराउँदै नरेठाँटी बजार व्यवस्थापन समितिले उपाधिसँगै पाँच वटा कुखुराको भाले जित्न सफल भयो भने आयोजक संगमले उपबिजेता बन्दै तीन वटा कुखुराको भालेमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै, तेस्रो स्थानमा चित्त बुझाउन बाध्य कालिलेक युवा क्लब, भुजुङ्गेले दुई वटा कुखुराको भाले जित्यो ।
 
महोत्सव अन्तर्गत नै आयोजित एकल नृत्य प्रतियोगितामा स्मृति विक प्रथम, सुष्मा श्रीस द्वितीय, दुर्गा सुनार तृतीय तथा अर्पणा शाही सान्त्वना भइन् । प्रतियोगितामा लोकगायक एवं संगीतकार नवीन राना, दुर्गा राना र सुशीला थापा निर्णायकका रूपमा रहेका थिए ।

सो अवसरमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरू गायक एवं संगीतकार सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल, नवीन राना, हास्य कलाकार तिलक कार्कीले महोत्सवलाई संगीतमय बनाएका थिए ।

यसअघि, महोत्सवको उद्घाटन सांसद् केशरी घर्तीमगरले गर्नुभएको थियो भने महोत्सवको समापन समाजसेवी रत्नकुमारी श्रीसले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक रेडियो गलकोटका स्टेशन म्यानेजर विपिन श्रीसले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 
क्लबका अध्यक्ष शेरबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रूद्रबहादुर श्रीस, मिलन निउरे, सुशीला थापा र कीर्तिका विकले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %