अन्नपूर्ण उपभोक्ता सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न !

Read Time:4 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, असोज २० – अन्नपूर्ण मार्गस्थित अन्नपूर्ण उपभोक्ता सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

बुधबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले शोषणविहीन समाज निर्माणका लागि सहकारी आवश्यक भएको बताउनुभयो । ‘शोषणविहीन समाज निर्माण गर्न सहकारी आवश्यक छ’, अधिकारीले भन्नुभयो, ‘देश विकासको महत्वपूर्ण पाटो भनेको आर्थिक विकास हो, आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण छ ।’

सेवा, परोपकार र मुनाफाका लागि सहकारी आवश्यक रहेको भन्दै अधिकारीले विवेकपूर्ण व्यवसाय नै सहकारी भएको बताउनुभयो । ‘सहकारी स्वायत्त र स्वतन्त्र छ’, अधिकारीले भन्नुभयो, ‘हुने खानेले नहुनेलाई अप्रत्यक्ष सहयोग गर्ने माध्यम नै सहकारी हो ।’ सहकारीले नेतृत्व विकासको अवसर दिने समेत उहाँको भनाइ थियो ।

कार्यक्रममा पोखरा–१५ का वडा सचिव सोमलाल सुवेदी, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लालबहादुर थापा, लोकोत्तर लोकवादी अभियानका अभियन्ता धनप्रसाद तामाङ, उच्च अदालत बार एशोसिएसन, पोखराका अध्यक्ष दयाराम गौतम, प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गंगाबहादुर खड्का, सहकारीका सल्लाहकार शिवबहादुर बानियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राम्रो काम गरेको भन्दै सहकारी उपभोक्ता पसलका व्यवस्थापक क्या. प्रेमबहादुर थापालाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, कर्मचारीहरू इन्द्रमाया थापा, पवित्रा छन्त्याल, हरिमाया गुरुङ, तोरण गुरुङ र दानबहादुर श्रीसलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा सहकारीका शेयर धनीहरूलाई शेयर प्रमाणपत्र पनि वितरण गरिएको थियो ।  

सहकारी संस्थाका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तेज बानियाँ र उपाध्यक्ष विमलादेवी गुरुङले स्वागत गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य सुकमाया श्रीसले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । साधारणसभाले सचिव तेज बानियाँद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष क्या. ठाकुरबहादुर थापाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पुरनबहादुर कुँवरद्वारा प्रस्तुत लेखा प्रतिवेदन समेत सुझावसहित पारित गरेको छ ।  

२०७२ साल साउनमा स्थापित सो सहकारी संस्थामा हाल ११६ जना शेयर सदस्य छन् भने आर्थिक वर्ष ०७२/०७३ सम्म शेयर पुँजी २४ लाख ५१ हजार रुपैयाँ र निक्षेप ८ लाख ४८ हजार ८ सय ५१ रुपैयाँ रहेको छ । सो सहकारी संस्थाले सुपथ मूल्यको सहकारी उपभोक्ता पसल समेत सञ्चालन गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %