गाविन्द घर्ती
रुपन्देही, असोज १५ – सहकारीहरु वीच एकिकरण गरी अगाडि बढ्नु आजको आवश्यकता रहेको जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले बताउनु भएको छ ।
उहाले सहकारीहरु आर्थिक शुसान भित्र रही नीतिको आधारमा सहकारीहरु संचालन गर्नु पर्नेमा जोड दिनु भयो । देवदह बचत तथा ऋण सहकारी संस्था देवदहको ११ औं बार्षिक साधारणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले जारी संविधानमा उल्लेख गरिएको सहकारी ऐन सहकारीहरुको पक्षमा नरहेको स्पष्ट पार्नु भयो ।
अध्यक्ष तुलाचनले सहकारीहरु वीच स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने भन्दै सहकारीहरु वीच एक आपसमा सहकार्य आवश्यक रहेकोमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भयो ।
देवदहमा कृषि उत्पादनको प्रर्वल संभावना रहेको क्षेत्र भएकोले सहकारीहरुले उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । सहकारीहरुले युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन युवाहरुलाई स्वरोजगारी तर्फ उन्मुख गर्नु पर्ने बताउनु भयो ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरु, देवदह साना किसान कृषि सहकारीका अध्यक्ष टिका गौतम, निर्माण बहुदेश्यीय सहकारीका रामप्रसाद कडेल, तारा पुञ्ज सहकारीका खडकबहादुर क्षेत्री, कोलिय बचत तथा ऋण सहकारी संस्थाका सुवकान्त न्यौपाने, पल्लवी बचत तथा ऋण सहकारीका खुमप्रसाद भण्डारी, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष जीवलाल पराजुली, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद पौडेलले करिव २१ करोड बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष ऋषिराम सापकोटाको स्वागत र सचिव हरिप्रसाद ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
