रूद्र श्रीसमगर
पोखरा, असोज १४ – संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे ‘उत्तम’ले चैत मसान्तसम्म स्थानीय चुनाव हुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री उत्तमले चैत मसान्तसम्म स्थानीय तहको चुनाव गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो । ‘देश अहिले संवेदनशील अवस्थामा छ’, मन्त्री उत्तमले भन्नुभयो, ‘संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती हाम्रा सामु छ ।
संविधान कार्यान्वयनका लागि स्थानीय चुनाव गर्नु अनिवार्य रहेको भन्दै मन्त्री उत्तमले चुनावका लागि स्थानीय तहको पुनर्संरचना कार्य अघि बढिरहेको उल्लेख गर्नुभयो । ‘स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो काम गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘पुनर्संरचना काम सकिएलगत्तै स्थानीय तहको चुनाव हुन्छ ।
स्थानीय तहको पुनर्संरचनाका लागि विद्यमान इलाकालाई मुख्य आधार मान्ने र अन्य आधारलाई समेत लिने दलहरूबीच सहमति भएको जनाउँदै मन्त्री उत्तमले आवश्यक मापदण्ड तयार गर्ने काम आयोगकै भएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि सरकारले ठोस कदम अघि बढाएको बताउँदै मन्त्री उत्तमले प्रधानमन्त्री प्रचण्डले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई ठोस निर्देशन दिइसकेको उल्लेख गर्नुभयो । साथै, आफूले स्थानीय विकास अधिकारीहरूलाई समेत निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको मन्त्री उत्तमको भनाइ थियो ।
प्रेस सेन्टर नेपाल कास्कीका कार्यवाहक अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण दवाडी तथा उपाध्यक्ष रोशनी गुरुङले स्वागत गर्नुभएको थियो ।
यसैबीच, मन्त्री उत्तमले नेकपा (माओवादी केन्द्र) पोखरा–१५ को पार्टी कार्यालय उद्घाटन गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच मन्त्री उत्तमले पार्टी कार्यालय उद्घाटन गर्नुभएको थियो ।
