रूद्र श्रीसमगर
पोखरा, असोज १४ – पोखरा–८, सिमलचौरस्थित ला–ग्राण्डी इन्टरनेशनल कलेजमा अध्ययनरत आईटीका विद्यार्थीहरूले मुस्ताङको सदरमुकाम जोमसोममा शिक्षक तथा विद्यार्थीका लागि तीन दिने प्रविधिसम्बन्धी तालिम आयोजना गर्ने भएका छन् ।
जोमसोमस्थित जनहित उच्च माविमा आगामी कात्तिक १० गतेदेखि १३ गतेसम्म विद्यार्थी र शिक्षकहरूका लागि कम्प्युटर सञ्चालन प्रणाली, कार्यक्रमिक अवधारणा, समस्या समाधानका उपायलगायतका विषयमा तालिम प्रयोगात्मक सीप सिकाइने आयोजक इभरसफ्टका सदस्य अर्जुन सुवेदीले जानकारी दिनुभयो । ग्रामीण तथा शहरी क्षेत्रबीचको प्रविधिमा भएको दूरी घटाउन कार्यक्रमले सहयोग पुग्ने अपेक्षा लिइएको सुवेदीले बताउनुभयो ।
कार्यक्रमका लागि विद्यालयका प्राचार्य रामचन्द्र अधिकारीले समन्वय गरिरहनुभएको छ । इभरसफ्ट समूहले कार्यक्रम सफल पार्न आर्थिक सहयोग जुटाउनका लागि ‘मिनियन्स’ फिल्मको च्यारिटी शो गर्ने भएको छ । आगामी कात्तिक ६ गते कल्पना सिनेमा हलमा बिहान ८ बजे च्यारिटी शो गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो ।
इभरसफ्ट समूहमा सगुन बराल, ओस्कार गर्बुजा, प्रभु गुरुङ, प्रदीप ढकाल, प्रदीप पौडेल, सरोज त्रिपाठी, अर्जुन सुवेदी र विपिन सापकोटा आबद्ध रहनुभएको छ ।
इभरसफ्ट समूहले कार्यक्रम सम्पन्न गर्न करिब सवा लाख खर्च लाग्ने अनुमान गरेको छ भने ९० हजार रुपैयाँ प्रायोजनबाट उठाउने लक्ष्य लिएको छ । इभरसफ्टले कार्यक्रम सफल पार्न सहयोग गर्नका लागि सबैलाई अपिल समेत गरेको छ ।
