रूद्र श्रीसमगर
पोखरा, असोज ८ – पोखरा–१०, बुद्धचोकस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
शनिबार आयोजित साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका संयोजक मेजर तुलसीप्रसाद गुरुङले सहकारीको अर्थ सहकार्य भएको बताउनुभयो । थोरै भएपनि बचत गर्ने बानीको विकासमा सहकारीको ठूलो योगदान रहेको भन्दै गुरुङले सबैले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पूर्णबहादुर रानामगर, सरस्वती उच्च माविका प्राचार्य दुर्गाबहादुर थापामगरलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष सरस्वती रानामगरले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुशीला रानामगरले कोषाध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक महेन्द्र आलेमगरले लेखा प्रतिवेदन र ऋण उपसमिति अध्यक्ष गगनसिंह थापामगरले ऋणको अवस्थाबारे प्रस्तुत गर्नुभएको प्रतिवेदन साधारणसभाले सर्वसम्मतिले पारित समेत गरेको छ ।
संस्थाका अध्यक्ष सरस्वती रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य यामकुमार थापामगर तथा उपाध्यक्ष निर्मल थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहकारीका सात सिद्धान्त समेत वाचन गरिएको थियो ।
२०६३ सालमा स्थापना भइ २०६५ सालमा आधिकारिक रूपमा दर्ता भएको सो सहकारीमा हालसम्म १०१ जना महिला र ६८ जना पुरुष गरी १६९ जना शेयर सदस्य रहेका छन् ।
सहकारीको शेयर पुँजी ८१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने २०७२ को असार मसान्तसम्म १ करोड ३७ लाख ९३ हजार १ सय ९४ रुपैयाँ कारोबार भएको छ ।
