मोरङ , १० चैत
एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षलाई चिट चोराउन सघाएको आरोपमा नियन्त्रणमा लिइएको छ ।
विराटनगर–१४ मा रहेको एक्सल ट्युसन सेन्टरका सञ्चालक मनिष स्वर्णकारसहित प्रश्नपत्र फोटोकपी गरेर परीक्षा केन्द्रमा लगी बाँड्न सघाउने १७ जनालाई पक्राउ गरेको हो ।
उनीहरुले दिएको बयानका आधारमा विराटनगर–१६ स्थित स्टार उच्च माविमा रहेको प्राइभेटतर्फको परीक्षा केन्द्र रहेको केन्द्राध्यक्ष उद्धव पोख्रेल र सहकेन्द्राध्यक्ष डिल्ली पोख्रेललाई प्रहरी चिट चोराउन सघाएको आरोपमा नियन्त्रणमा लिएको हो । पोख्रेलद्वय उक्त माविका सञ्चालक र नातामा दाजुभाइ हुन् ।
आज बिहान एसएलसी परीक्षा सुरु हुनुभन्दा अगाडि नै अङ्ग्रेजी विषयको प्रश्नपत्र आउट गरी बिहानैदेखि फोटो कपी गरेर बेच्न थालिएको थियो ।
उक्त ट्युसन सेन्टरभित्र फोटोकपी मेसिन राखेर फोटोकपी गर्ने र प्रश्नपत्र लिनेहरुको भीड लागेपछि प्रहरीले सुराकीको आरोपमा तत्काल छापामारी उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो ।
प्रहरीले १६ जनालाई प्रश्नपत्रसहित र सञ्चालक स्वर्णकारलाई पाइखानाभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विराटनगर–३ का टीका ढकाल, २२ का विनोद खड्का, ६ का निलम प्रधान, २० का प्रशान्त श्रेष्ठ, १९ का रञ्जन शाही, ५ का भीष्म धमला, राम थानदार, उपेन्द्र मण्डल १६ का अनुज दहाल, १७ का सौरभ खरेल, ४ का युवराज बाँस्तोला, मोरङ लेटाङ–१ का सरोज भट्टराई, र मधुमल्ला–२ का दुर्गा पौडेल र ओखलढुङ्गाका मित्र धमला रहेका छन् ।
पक्राउ गरिएका केन्द्राध्यक्ष र ट्युसन सेन्टर सञ्चालकहरुलाई आवश्यक कारबाही चलाउने जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले बताए ।