देव घर्ती मगर
देवदह, असोज ३ – समृद्धि समाज निर्माण गर्न सहकारीहरु लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
उनीहरुले सहकारी संस्थाहरुले उत्पादन र व्यवसायीक क्षेत्रमा लगानी गर्नुपर्ने बताउदै उत्पादन र व्यवसायी विना देशको अर्थतन्त्र बलिलो हुन नसक्ने बताएका थिए । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको ११ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएक हुन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु जाती, भूगोल र राजनैतिक आधारमा संचालन गर्न नहुने बताएका थिए । निम्न आर्थिक अवस्थामा भएकाको स्तरवृद्धि गर्न सहकारीहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
सहकारी संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी सघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचन, कोलिय सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रकाश अर्याल, सल्लाहकार ईश्वरी ढुंगाना, पुर्व अध्यक्ष जयकिशन अधिकारी, साना किसान कृषि सहकारीका अध्यक्ष टिका गौतम, माओवादी केन्द्रका जिल्ला सदस्य चिरन पुन, रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल, उद्योग व्यापार संगठनका गोविन्द ठड्राई, दिनानाथ अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
स्थापना दिवसको अवसरमा सहकारीले कोलिय टोल सुधार समितिलाई ४ वटा फोहोर डस्तविन समेत प्रदान गरिएको थियो । कार्यक्रममा कोलिय सामुदायिक विकास केन्द्रको सहयोगमा कोलियले एम्वुलेन्स संचालन गर्ने जानकारी दिईएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने व्यवस्थापक विनोद पराजुलीले संस्थाले गरेका कामको वारेमा प्रकाश पार्नु भएको थियो । कोषाध्यक्ष हरीप्रसाद पाण्डेको स्वागत, जागेश्वरी पंगेनीको धन्यवाद ज्ञापन र सचिव खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
