विनोद रखाली मगर
गल्याङ, भाद्र ३१ – स्याङ्जाको गल्याङमा नै केन्द्रको माग गर्दै पिडीखोला गाविस वडा नं ७ र ९ का स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थी र स्थानीय विकास अधिकारी महेस प्रसाद भट्टराई समक्ष ज्ञापन पत्र वुझाएका छन् ।
स्थानीय पुर्नसंरचनामा मिर्मी गाँउपालिकामा समावेश गरीएको भन्दै पिडीखोलाका वडा न. ७ र ९ का स्थानीयले कडा आपत्ति जनाएका हुन् । दुवै वडाहरु मिर्मी केन्द्रमा जानको लागि गल्याङ केन्द्र भएर मात्रै जान पर्ने अवस्था रहेको, दुवै वडाहरुले हालको प्रयोग गरिरहेको खानेपानीको मुहान पिडीखोला वडा नं ४ बाट नै सञ्चालन भएको, वडा नं ७ र ९ वडामा जोडिने गल्याङ सल्यान, स्यालबास ग्रामिण सडक गल्याङबाट नै सञ्चालन भएको,जनताको लागि दैनिक अति आवश्यक उपभोग्य सामग्री गल्याङबाट नै ल्याउनु पर्ने भएकाले र गाउँका कृषकहरुद्धारा उत्पादित वस्तुको पहिलो बजार समेत गल्याङ भएकाले र सिङगो पिडीखोला गाविसलाई अलग हुन नदिई एउटै केन्द्रमा राख्ने अवस्था रहेको हो ।
वडा नं ७ र ९ का जनताहरु मिर्मी केन्द्रमा जान ग्रामिण सडकको समेत व्यवस्था नहँदा घण्टौ लगाएर पैदल हिड्नुपर्ने जस्ता लगाएतका समस्याहरु रहेकाले ध्यानाकषर्ण सहित सुबदार चन्द्र बहादुर रखाली मगर र भिम प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले सो ज्ञापन पत्र बुझाएको हो ।
आफ्नो माग पुरा नभए जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने आयोजक स्रोतले जनाएको छ । कार्यक्रममा स्थानीयले स्थानीय समस्यालाई वेवास्था गरी त्यस क्षेत्रका मर्म र भावनालाई ख्याल नगरी निर्णय गरेमा त्यस क्षेत्रका जनता कानुनी प्रक्रियामा समेत अघि बढ्न सक्ने र अन्य सङ्घर्षका कार्यक्रमहरु अगाडी सार्न बाध्य हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थी र स्थानीय विकास अधिकारी महेस प्रसाद भट्टराई समक्ष प्रतक्ष्य पेश गरीएको सङ्घर्ष समितिका चन्द्र वहादुर रखाली मगरले वताएका छन् ।
