रूद्र श्रीसमगर
पोखरा, भदौ २७ – नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीको आयोजनामा ‘मगर समुदाय र मगर विद्यार्थीको भूमिका’ विषयक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
आम कस्केली मगर विद्यार्थीहरूलाई लक्षित गरी गरिएको उक्त प्रशिक्षण कार्यक्रममा केही गैरमगरहरूसहित करिब ३० जना मगर विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
आम मगर विद्यार्थीहरूको नेतृत्व विकास गर्न र आफ्नो समुदाय, भाषा, धर्मसंस्कृति, चालचलन, रीतिरिवाज आदिबारे सचेतना गराउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले यस्ता मगर विद्यार्थी हितमा हुने प्रशिक्षण कार्यक्रमहरू बेला बेलामा गरिरहनुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं नेपाल मगर विद्यार्थी संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगरले अहिलेको अवस्थामा मगर विद्यार्थीहरू सक्रिय रूपमा लाग्नुपर्ने र सरकारका हरेक निकायमा समानुपातिक सहभागिताको लागि संघर्ष गर्नुपर्ने कुरामा जोड दिनुहुँदै मगर विद्यार्थीहरूको भूमिका विषयमा प्रशिक्षण समेत दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल मगर संघका पूर्व महासचिव एवं अधिवक्तासुरेन्द्र थापामगरले मगर, पहिचान, धर्मनिरपेक्षता, नेपाली समाज, पुनर्संरचना, आदिवासी जनजाति, आत्मनिर्भरता, समानुपातिक, संगठन, संविधान, युवा, नेमविसं, नेमसं, स्वायत्तता, समावेशी, विविधता, संस्कृति, जातीय विभेद, आईएलओ १६९ लगायतका अन्य विविध विधामा आधारित रहेर प्रशिक्षण गराउनुभएको थियो ।
प्रशिक्षण सकिएलगत्तै प्रशिक्षक सुरेन्द्र थापामगर रसंघका तर्फबाट नेपाल मगर संघ कास्कीलाई मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका गण्डकी अञ्चल उपाध्यक्ष नेत्र घर्तीमगर, मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका निवर्तमान सह–सचिव प्रेम रोकामगरलगायतले बोल्नुभएको थियो ।
संघका जिल्ला अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव टीका थापामगरले गर्नुभएको थियो भने स्वागत संघका सह–सचिव पवन रोकामगरले गर्नुभएको थियो ।
