रूद्र श्रीसमगर
कुश्मा, भदौ २६ – मिलन फाउण्डेशन नेपालको दोस्रो साधारणसभाबाट अध्यक्षमा पुनः गंगाकुमारी गुरुङ निर्वाचित हुनुभएको छ ।
पर्वतको कुश्मामा शनिबार सम्पन्न दोस्रो साधारणसभाबाट उपाध्यक्षमा देवीकुमारी गुरुङ, सचिवमा खड्कबहादुर गुरुङ ‘मदन’, सह–सचिव कमल थापा र कोषाध्यक्षमा देउकी सिंजाली ‘दिपिका मिलन’ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, ११ सदस्यीय समितिका सदस्यहरूमा गौरी गुरुङ, कृष्णकला केसी, धनकुमारी गुरुङ, भूपेन्द्र कुँवर, सरस्वती क्षत्री र गोविन्द मल्ल रहनुभएको छ । साधारणसभाबाट सल्लाहकार एवं कार्यक्रम संयोजकमा क्या. हितकाजी गुरुङ र प्रचारप्रसार संयोजकमा रूद्रबहादुर श्रीस चयन हुनुभएको छ ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले फाउण्डेशनले विशुद्ध सामाजिक काम गर्दै आएको बताउनुभयो । सामाजिक कार्यमार्फत समाजको उत्थानका लागि गैरनाफामूलक संस्था फाउण्डेशनले विभिन्न सिर्जनात्मक गतिविधि गर्दै आएको भन्दै समाजसेवी गुरुङले अन्य गैरसरकारी संस्थाभन्दा पृथक ढंगले आफूलाई स्थापित गर्न सफल भएको बताउनुभयो ।
फाउण्डेशनले आफ्ना हरेक गतिविधि पारदर्शी ढंगले अघि बढाएकोमा खुशी व्यक्त गर्दै गुरुङले आगामी दिनमा पनि पर्वत मात्रै नभएर देशका अन्य भागमा पनि फाउण्डेशनले सक्दो सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने उल्लेख गर्नुभयो ।
साधारणसभाले सचिव खड्कबहादुर गुरुङ ‘मदन’द्वारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका मिलन’द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ । साथै, फाउण्डेशनलेसंस्थाका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले दिँदै आउनुभएको चितवनको अन्त्योदय आवासीय माविमा रहेको अन्त्योदय मिलन तेक्वान्दो डोजाङलाई एक वर्षको प्रशिक्षक खर्चस्वरुप ४८ हजार रुपैयाँ नगद दिने निर्णय समेत गरेको छ ।
यसैबीच, फाउण्डेशनका अध्यक्ष गंगाकुमारी गुरुङ आफ्नो कामका शिलशिलामा हङकङ जान लाग्नुभएकोमा अध्यक्ष गुरुङले आफ्नो कार्यभार उपाध्यक्ष देवीकुमारी गुरुङलाई सुम्पनुभएको छ । उपाध्यक्ष गुरुङले कार्यवाहक अध्यक्षका रूपमा अध्यक्षको अनुपस्थिति रहुञ्जेल फाउण्डेशनलाई अघि बढाउनुहुनेछ ।
