स्याङ्जा, ८ चैत
स्याङ्जाको कुवाकोटबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ४६५९ नम्बरको जिप केवरेभज्याङ गाविस–४ स्थित राजुविसौनीमा आज दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूमा कुवाकोट–३ का ५५ वर्षीय तुलसीराम उपाध्याय, कुवाकोट–५ का ३८ वर्षीय उदयबहादुर सिंजाली, कुवाकोट–१ की १५ वर्षीया लक्ष्मी थापा र कुवाकोट–३ बस्ने नाम खुल्न नसेकेकी शोभाकान्त न्यौपानेकी ६० वर्षीया आमा रहेकी छन् ।
गम्भीर घाइते हुनेहरूमा केवरेभज्याङ्–४ का रीता ढुङ्गाना, केवरेभज्याङ–८ का जिपका सहचालक विनोद गुरुङ र जिप चालक निर्मल गुरुङ, कुवाकोट–१ की ४० वर्षीया फूलमाया श्रेष्ठ रहेकी छन् ।
उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
अन्य सामान्य घाइते भएका पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार गराइ घर फर्किसकेको प्रहरीले जनाएको छ ।
अत्यधिक ‘लोड’का कारण ग्रामीण सडकमा जिप अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो जिप सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।