रूद्र श्रीसमगर
काठमाडौं, भदौ नेपाली उत्पीडित समुदायका खम्बा एवं पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार राति निधन भएको छ ।
राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा ७० वर्षीय खपाङ्गीको निधन भएको हो । २०७० वैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा राष्ट्रिय सभागृह अगाडि मोटरसाइकलले ठक्कर दिएपछि खपाङ्गी लगातार उपचार गराइरहनुभएको थियो । ठक्करले उहाँको टाउकोमा चोट लागेको थियो । आइफाका महासचिव सञ्जोग लाफा मगरका अनुसार उपचारका लागि उहाँलाई सिंगापुरसमेत लगिएको थियो ।
खपाङ्गी२००३ साउन २५ मा उदयपुरको थाक्लेमा जन्मिनुभएको थियो ।उहाँको परिवार हाल ललितपुरको नख्खुमा डेरा गरी बसेको छ । स्वर्गीय खपाङ्गीका २ छोरा र २ छोरी छन् । खपाङ्गीको शव श्रद्धाञ्जलीका लागि कलंकीस्थित नेपाल मगर संघको कार्यालयमा राखिएको छ । सोमबार खुलामञ्चमा श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्येष्टि गर्ने तयारी छ ।
नेपाल कम्युनिस्ट पार्टी (माले)मार्फत राजनीतिमा प्रवेश गरेका खपाङ्गी नेपाल मगर संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव हुन् । २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गठन गरेको मन्त्रिमण्डलमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याणमन्त्री हुनुभएको थियो । आदिवासी जनजातिले दशैं मनाउन नहुने तर्क गर्दै आएका खपाङ्गी मन्त्री रहेका बेला राजाको हातबाट दशैंको टीका थापेपछि विवादमा तानिनुभएको थियो ।
त्यसअघि, खपाङ्गीलाई आदिवासी जनजाति समुदायलगायतका उत्पीडित समुदायले नेपालका नेल्सन मण्डेला मान्ने गर्दथे । खपाङ्गी आदिवासी जनजातिलगायतका नेपाली उत्पीडित समुदायका एक खम्बा नै मानिनुहुन्थ्यो ।
