रूद्र श्रीसमगर
पोखरा, भदौ १२ – नेपाल मगर विद्यार्थी संघ कास्कीले यही भदौ २५ गते शनिबार “मगर समुदाय र मगर विद्यार्थीको भूमिका” विषयक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
आम कस्केली मगर विद्यार्थीहरूलाई लक्षित गरी गर्न लागिएको उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रूपमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजड्ड बरालमगर, नेपाल मगर संघका पूर्व केन्द्रीय महासचिवद्वय लोकबहादुर थापामगर र अधिवक्ता सुरेन्द्र थापामगर रहने अध्यक्ष दिनेश रोकामगरले जानकारी दिनुभयो ।
बैठकमा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर तथा संघका निवर्तमान गण्डकी अञ्चल सह–सचिव प्रेम रोकामगरले आवश्यक दिशा निर्देशन दिनुभएको थियो । आगामी माघ १५, १६ र १७ गते मोरङको लेटाङमा सम्पन्न हुन लागेको संघको नवौं राष्ट्रिय महाधिवेशन सहयोगार्थ लखन स्मृति कप फुटबल प्रतियोगिता पनि गर्ने भएको छ । उक्त प्रतियोगिता सञ्चालन तयारीको निम्ति संघका जिल्ला कोषाध्यक्ष सुशान्त गाहामगरको संयोकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
त्यसैगरी, उपसमितिका सदस्यहरूमा क्रमशः साजन थापामगर, पवन रोकामगर, शर्मिला आलेमगर, चानुमाया आलेमगर, देवी रोकामगर र मनिता थापामगर रहनुभएको छ भने बैठकमा अन्य विभिन्न महत्वपूर्ण विषयहरूमा समेत छलफल गरिएको थियो ।
जिल्ला अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन जिल्ला सह–सचिव पवन रोकामगरले गर्नुभएको थियो ।
