पोखरा, ६ चैत
गुलरिया नगरपालिका वडा नं ६ निवासी राकेशकुमार शर्माले आज बिहान पोखराको लखनचोकमा ६०१ सभासद्को दसमहिने सामूहिक मासिक श्राद्ध गरे ।
सामूहिक श्राद्ध कार्यक्रममा सबै सभासद्हरुको कार्टुनसमेत राखिएको थियो । २०६७ साल जेठ १४ गते राति १२ बजे संविधानसभाको म्याद सकिएको अवस्थामा संविधानसभालाई भत्ता खाने स्थल बनाएकामा विरोधस्वरुप शर्माले सभासद्को मृत्यु भइसक्यो भन्दै श्राद्ध गरेका हुन् ।
विभिन्न जिल्लाहरुमा पुगी मासिक श्राद्ध गर्ने क्रममा उनी पोखरा आइपुगेका हुन् । गत मङ्सिर ६ गते बर्दिया जिल्लाको गुलेरिया नगरपालिकाको राधाकृष्ण चोकमा ६ महिने, पुस ७ गते नेपालगन्जको धम्बोजी चोकमा ७ महिने, माघ १३ गते नारायणगढको पुल्चोकमा ८ महिने, फागुन ७ गते वीरगन्जको घन्टाघरमा ९ महिने श्राद्ध उनले गरिसकेका छन् ।
यस्तै उनले वैशाख ६ गते बुटवलको मिडियाचोकमा ११ महिने र जेठ ४ गते काठमाडौँको नयाँ वानेश्वरमा १२ महिने श्राद्ध गरेर बरखी फुकाउने कार्यक्रम तय गरेका छन् ।
यसैगरी २०६८ साल जेठ १४ गतेका दिन काठमाडौँको खुला टुँडिखेलमा सबै सभासद्को नाममा एकाहा गर्ने कार्यक्रमसमेत भएको उनले बताएका छन् ।
उनलाई प्रहरी कार्यालय बैदामले माथिको आदेश भन्दै पक्राउ गरेर लगेको छ ।