मीना थापा मगर
पोखरा, साउन २९ – पोखरा नेपाल मगर संघ कास्कीको २२औ जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । समाजको आफ्नै भवन रंगशाला गेटमा भएको सम्मेलनको उद्घाट नेपाल मगर संघ केन्द्रिय समितिका पश्चिमाञ्चल उपाध्यक्ष मन्धरी आलेमगरले गर्नुभएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै उहाँले सामाजिक संस्थाको भूमिका राजनीतिक दलको भन्दा ठूलो रहने बताउनुभयो । अहिलेको नयाँ संविधान विशेषगरी आदिवासी जनजातिको हितमा नभएर सिमित वर्गलाई समेटेको भन्दै संविधानको पनुरलेखन हुनुपर्ने बताउनुभयो । उहाँले अब हुने स्थानीय निर्वाचनमा आफ्नो पहुँच बढाउन समग्र मगरसमुदायलाई आग्रह गर्नुभयो ।
उहाँले महिलाको प्रसंगमा भन्नुभयो “विभिन्न संघसंस्था तथा राज्यको उच्च निकायमा मगर महिलाहरुको न्यून सहभागिता रहेको हुनाले मगर महिलाहरु सचेत भई आफ्नो अस्तित्व कायम गर्नको लागि अगाडि बढ्नुपर्दछ ।”
यसैगरी अधिवक्त सुरेन्द्र थापामगरले राज्यको जिम्मेवार निकायमा मगरहरुको पहुँच बढाउन उत्प्रेरित गर्दै सामाजिक कार्यसँगै राजनीतिक क्षेत्रमा पनि सक्रिय हुनुपर्ने बताउनुभयो । नेपाल मगर संघका निवर्तमान केन्द्रिय सदस्य झलक रानामगरले मगरहरुको हक अधिकार प्राप्तिका लागि एकजुट भएर आन्दोलित हुनुपर्ने बताउनुभयो ।
उद्घटन शत्रमा जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगन थापामगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीमगर, नेपला मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगर, नेपाल मगर संघ कास्कीका पूर्व उपाध्यक्ष एवं संरक्षक इन्द्रबहादुर गर्बुजामगर, नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघका अध्यक्ष चन्द्रप्रकाश थापामगर, मगरात राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रिय महासचिव बालकृष्ण काउछामगर, जनचेतन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरस्वती रानामगर, चित्रेभन्ज्याङ पोखरा सम्पर्क मञ्चका अध्यक्ष क्या. नरेश थापामगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्र हिटामगर, नेपाल मगर लेखक संघ केन्द्रिय सचिव रुद्र सन्देश मगरलगायत मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनको बन्दशत्रमा सचिव यामबहादुर थापामगरले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापामगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनको सञ्चालन सचिव यामबहादुर थापामगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष तथा भवन संरक्षक संयोजक मे. प्रेमबहादुर थापामगरले व्यक्त थियो ।
