कञ्चनपुर, ४ चैत
रकम असुलेर होटेलको कोठामा बसेर जग्गाधनी पुर्जा वितरण गरेको भन्दै हिजो पक्राउ गरिएका सुकुम्बासी समस्या समाधान समितिका तीन कर्मचारीलाई प्रहरीले मुक्त गरेको छ ।
प्रहरीले एक घन्टा नियन्त्रणमा लिएर आयोगका सदस्य चक्र विष्ट, कर्मचारी गणेशदत्त पाण्डेय र प्राविधिक कृष्णानन्द भट्टराई मुक्त गरेको हो ।
नेकपा (एमाले) सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका कार्यकर्ताहरुको सूचनाका आधारमा प्रहरीले महेन्द्रनगरको तारा होटलबाट तीनैजनालाई पक्राउ गरेको थियो ।
कर्मचारीहरुबाट बरामद गरिएको भनिएको नगद रु ५५ हजार रैकरवार विचवा गाविसका सचिव गणेशदत्त पाण्डेयले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई वितरण गर्न बैंकबाट झिकेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले तीनवटै आयोगका कर्मचारी निर्दोष सावित भएकाले मुक्त गरिएको बताए ।