प्रताप रानामगर
तनहुँ, श्रावण ५-आर्थिक अभावमा दुवै मृगौलाले काम गर्न छाडेको ६ महिना सम्म उपचार हुन नसकेका तनहुका एक बालकको लागि नवलपरासीको एक परिवारले १ लाख ११ हजार नगद सहयोग गरेको छन् ।
राम्जाकोट ८ का १५ बर्षिय विकास थापा मगरको उपचारका लागि नवलपरासी जिल्ला कावासोती २ का ओमप्रकाश गुरुङ र उनका दुई बहिनी सन्तु र मनुले उक्त रकम सहयोग गरेका हुन् ।
सन्तु र मनु हाल हङकङ्गमा बस्र्दै आएका छन । आर्थिक अभावमा बालकको उपचार हुन सकेको थिएन । सो समाचार मगर मिडिया डट कम र राज्य सत्ता डट, कम डिजिटल पत्रिकामा प्रकाशित भएपछि हङकङमा बस्ने दुई बहिनी र गुरुङले थाहा पाएर रकम संकलन गरी हस्तान्तरण गरेका हुन् ।
सो आर्थिक सहयोग जुटेपछि मृगौला पिडित बालक थापामगर खुसी भएका छन । अब भने मैले उपचार गर्न पाउने भए अब म बाच्छु होला, विकासले भने अरुले पनि सहयोग गरे मेरो जिवन बाच्ने थियो । बालक ६ महिना देखि ओच्छ्यानमा छटपटाएका छन् ।
शरिर पुरै सुन्निएपछि बाबु दमबहादुर थापा मगरले दमौली स्थित जिल्ला अस्पतालमा उपचारका लागि लगेका थिए । जिल्ला अस्पतालले पोखरा स्थित गण्डकी अस्पतालमा रिफर गरेपनि त्यहा“ उपचार हुन नसकी मणीपाल शिक्षण अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा अभिभावकको पैसा सकिएपछि व्यास ७ स्थित फुपू नाताकी टकमायाको घरमा उनलाई राखिएको छ । उपचारका लागि कम्तिमा ५ लाख लाग्ने अस्पतालले बताएपछि परिवार घर फर्कन बाध्य भएका हुन् । ‘पैसाको कुनै श्रोत छैन, कसरी उपचार गर्नु’ दमबहादुरले भने, ‘खेती किसानीको भरमा परिवार पाल्दै थिए, उपचार खर्च गर्न सकिन ।’
उनको पिशावबाट रगत बग्ने, शरिर सुन्निने र पटक पटक बेहोस हुने भएको अभिभावकले बताए । बालकलाई एबी पोजेटिभ रगतको समेत अभाव भएको थापाले बताइन् । रगतमा हेमोग्लोविनको मात्रा न्युन भएपछि बालक कमजोर भैसकेका छन् । स्थानीय रम्मी थापा मगरले बालकको उपचारका लागि सामाजिक संजाल मार्फत आर्थिक सहयोग जुटाउने अभियान सन्चालन गरेकी छिन ।
