कास्की, २ चैत
एकीकृत नेकपा (माओवादी)का महासचिव रामबहादुर थापा बादलले शान्तिप्रक्रियालाई टुङ्गोमा पुरयाउन र विकास निर्माण कार्यलाई अगाडि बढाउन आफ्नो पार्टीले जनस्वयम्सेवक परिचालन ब्युरो गठन गरेको बताएकाछन ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव थापाले भन्नुभयो– ‘बाह्य हस्तक्षेप, सीमा अतिक्रमण र अस्तव्यस्तताका विरुद्ध, शान्तिप्रक्रिया तथा देस विकासमा सहयोग गर्नु जनस्वयम्सेवक ब्युरोको मुख्य उद्देश्य हो ।’
शान्ति स्थापना, नयाँ संविधान निर्माण र बाह्य हस्तक्षेप बन्दहोस् भन्नका लागि एमालेसँग भएको सातबुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।
पूर्वरक्षामन्त्रीसमेत रहनुभएका महासचिव थापाले सेना समायोजन कसरी गर्ने भन्ने विषयमा मोडालिटीको कुरा उठाउने दायित्व नेपाली सेनाको नभएको स्पष्ट पारे ।
सरकार गठनका बेला एमालेसँग भएको सातबुँदे सहमतिअनुरुप नै सेना समायोजन हुने उनको दाबी थियो ।
जेठ १४ मा संविधान नबने मुलुक दुर्घटनामा फस्ने चेतावनी दिँदै उनले दलाल पूँजीपति र विदेशी शक्ति नेपालमा शान्ति र राज्य पुनःसंरचना हुन नदिन लागिपरेको आरोप लगाए ।