विभेदकारी नितिको बिरोध गर्दैमा जातिवादी भइँदैन :घर्तीमगर

Read Time:4 Minute, 42 Second

देब पचभैया

पाल्पा, श्रावण १ – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

(आदिवासी जनजाति महासंघको अध्यक्षमा केहरसिं राना मगर)

अधिवेशनको उद्घाटन गर्दै प्रमूख अतिथि संघीय परिषद्का सदस्य वसन्त घर्तीमगरले विभेद्कारी नीतिको बिरोध गर्दैमा कोही जातिवादी नहुने बताउनुभयो । उहाँले सामाजिक रुपमा रहेको जातिय विभेद् बिरुद्धमा सबैले एक भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा आदिवासी जनजाति समुदाय पनि छन् भन्ने कुरा नीति निर्माणताले स्वीकार गर्न नसक्दा समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । घर्तीमगरले समाजको विभेद् र अत्याचार नदेख्ने प्रवृत्तिका व्यक्तिले सामाजिक न्यायको मुद्दा उठाउँदा जातिवादी भन्ने गरेको टिप्पणी गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि पाल्पाका प्रमूख जिल्ला अधिकारी बावुराम गौतमले संयुक्त राष्ट्र संघले आदिवासी जनजातिका लागि दिएको हक अधिकार प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल सरकारले पछि परेको आदिवासी समुदायलाई आरक्षणको व्यवस्थाबाट उनीहरुको अधिकार स्थापित गरेको जिकिर गर्नुभयो । कार्यक्रममा बुद्धिजिवि निर्मल श्रेष्ठले आदिवासी जनजाति समुदायले थिचोमिचो सहेर बस्दा मिलेको हुने थिचोमिचो भयो भनेर आवाज उठाउँदा भड्काउ देख्नु सरासर गलत भएको टिप्पणी गर्नुभयो । उहाँले विदेशीले आफ्नो मुलुकमा एक प्रतिशत जनसंख्यालाई अधिकार दिन हुने नेपालमा लाखौँ जनसंख्यालाई अधिकारबाट बञ्चित गर्दा समेत यो संविधान ठीक छ भनेर भनेकोमा आश्चार्य जनाउनुभयो ।

कार्यक्रममा पूर्व सभासद् लिलाकुमारी सोमै, आदिवासी जनजातिका सल्लाहकार टोप अस्लामी, अधिवक्ता लालकुमारी राना, जिविसका आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष ज्ञानबहादुर गाहा, कुमाल सुधार समितिका केन्द्रीय उपाध्यक्ष गणेश कुमाल, संघीय आदिवासी जनजाति महासंघका प्रतिनिधि नविन सुनुवार, मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष दलबहादुर रानाले शुभकामना दिनुभएको थियो ।

यस्तै आदिवासी जनजाति संघ पाल्पाका अध्यक्ष कृष्णबहादुर राना, आदिवासी कर्मचारी पत्तबहादुर तामाङ्, प्रहरी उपरीक्षक हरिराज वाग्ले, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मोहन श्रेष्ठ, पत्रकार महासंघका कोषाध्यक्ष मिलन विश्वकर्माले शुभकामना दिनुभएको थियो । कार्यक्रम तेस्रो अधिवेशन आयोजक समितिका सदस्य शेरबहादुर शेरचनको स्वागत, प्रेमसागर शाहीको संचालन र रामबहादुर गरम्जाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जनजातिको अध्यक्षमा राना

अधिवेशनले केहरसिं रानाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रेमसागर शाही र कोषाध्यक्षमा विष्णुकुमारी घर्तीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सन्तबहादुर बोटे, धु्रब गौचन, टकमाया दराई, खड्गबहादुर गुरुङ् र मित्रबहादुर वान्तवा राई रहनुभएको छ । सचिव र सहसचिव महासंघको पहिलो बैठकले चयन गर्ने बताइएको छ । अधिवेशनमा पाल्पा जिल्लामा रहेका ११ वटा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %