रूद्र श्रीसमगर
पोखरा, २९ असार
तमु धिं नेपालका अध्यक्ष कर्म तमुले आफ्नो ३२ औं वैवाहिक वर्षगाँठका अवसरमा स्थापना गरेको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७३’बाट यस वर्ष पत्रकार मान बहादुर घर्तीमगर ‘एमबी आस्था’ सम्मानित भएका छन ।
अध्यक्ष तमुको ३६ औं वैवाहिक वर्षगाँठका अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा १० हजार रुपैयाँ नगद, सम्मानपत्र, आदिवासी पोशाक भांग्रा र फेटाद्वारा पत्रकार एमबी आस्था मगरलाई सम्मान गरिएको हो ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका संस्थापक एवं पूर्व सचिव हुन् भने हाल सल्लाहकार हुन । एबीसी न्यूज टेलिभिजनमा पश्चिमाञ्चल ब्यूरो प्रमुखका रूपमा कार्यरत पत्रकार मगर विगत १७ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन ।
सो अवसरमा बोल्दै अध्यक्ष तमुले आदिवासी जनजाति पत्रकारहरूको प्रोत्साहनका लागि अलिकति भएपनि केही गरौं भन्ने उद्देश्यले पुरस्कारको स्थापना गरेको बताए । पुरस्कारको राशि केही कम भएजस्तो लागेर यस वर्षदेखि दोब्बर वृद्धि गरेको जनाउँदै अध्यक्ष तमुले पत्रकारिता क्षेत्रमा आदिवासी जनजातिहरू पनि अगाडि आउनुपर्ने उल्लेख गरे । पत्रकार भनेको समाजको ऐना भएको भन्दै पुरस्कारले आदिवासी जनजाति पत्रकारलाई हौसला मिल्ने विश्वास लिएको बताए ।
पुरस्कारबाट सम्मानित व्यक्तित्व पत्रकार एमबी आस्था मगरले पुरस्कारले आफूमाथि आदिवासी जनजाति समुदायका लागि थप जिम्मेवारी थपिएको महसुस गराएको भन्दै आगामी दिनमा पनि आवाजविहीनहरूको आवाज बन्न प्रयत्नशील रहने वाचा गरे । आफूलाई पुरस्कार योग्य ठानेर निर्णय गरेकोमा प्रतिभा छनौट समितिलाई धन्यवाद दिँदै पत्रकारिता क्षेत्रमा निरन्तर लागिरहन यस पुरस्कारले थप हौसला दिएको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नेपाल प्रेस सोसाइटीका केन्द्रीय संयोजक रूद्र प्रसाद भट्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका संस्थापक अध्यक्ष रूद्र बहादुर थापामगर लगायतले बोलेका थिए । सो अवसरमा पुरस्कारका संस्थापक कर्म तमुको जीवनीका बारेमा फोनिज कास्कीका सल्लाहकार सरस्वती गुरुङले टिप्पणी गरेकी थिइन भने त्यसतै पुरस्कृत व्यक्तित्वका बारेमा सल्लाहकार एवं प्रतिभा छनौट समितिका संयोजक अधिवक्ता जुना कुमारी गुरुङले बोलेकी थिइन ।
फोनिज कास्कीका अध्यक्ष हुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रोशनी गुरुङले गरेका थिए भने उपाध्यक्ष रूद्र बहादुर श्रीसमगरले स्वागत गरेका थिए ।
