सनु थापा मगर
बुटवल ,असार २४-आदिवासी जनजाति महासंघ जिल्ला समिति रुपन्देहीको पाँचौं जिल्ला अधिवेशन आज शनिबार बुटवलमा हुँदैछ । यसको लागि सम्पुर्ण तयारी पुरा भएको सचिव दुर्गा थापाले जानकारी दिनुभयो । महासंघका अध्यक्ष सन्तराम चौधरीको कार्यकाल सकिएपछि महासंघले अधिवेशन गर्न लागेको हो ।
१० वटा एकल जातीय संस्थाहरु क्रियाशिल रहेको रुपन्देहीमा यसपटक महासंघको नेतृत्वका लागि आकांक्षीहरु धेरै देखिएका छन् भने अधिवेशनप्रति सबैको चासो बढेको छ । अध्यक्षका लागि प्रमुख दावेदारको रुपमा महासंघका पूर्व जिल्ला कोषाध्यक्ष एवं छन्त्याल संघका अध्यक्ष दल बहादुर छन्त्याल रहनुभएको छ । एक कार्यक्रम गरेर उहाँले आफ्नो उम्मेद्वारी घोषणा गरीसक्नुभएको छ ।
लामो समय समाजसेवामा समय बिताउनु भएका छन्त्याल संस्था हाक्न अनुभवी र क्षमता भएका व्यक्तिका रुपमा मानिनुहुन्छ । आदिवासी जनजातिका बीचमा राम्रो छवी बनाउन सफल छन्त्याल समुदायमा अभिभावकको भुमिका निर्बाह गर्दै आउनु भएको छ । गत अधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेदवारी दिनु भएका उहाँले सन्तराम चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आगामी अधिवेशनमा आफुलाई नेतृत्व दिने तत्कालीन एकल जातीय अध्यक्षहरुको बीचमा लिखीत सहमती भएपछि उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो त्यसपश्चात सन्तराम चौधरी अध्यक्ष बन्नुभएको थियो । यसपछि पनि उहाँ निरन्तररुपमा आदिवासी जनजातिहरुको अधिकारका लागि खटी रहनु भएको छ ।
यसैगरी महासंघको नेतृत्वका लागि अर्का आकांक्षी धन बहादुर गुरुङ रहनुभएको छ । नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति रुपन्देहीको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालीसक्नु भएका गुरुङ तमु ह्युल छोँजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका सचिव समेत हुनुहुन्छ । युवा नेता एवं समाजसेवीका रुपमा परिचित गुरुङ्गको आदिवासी जनजातिहरुको विगतका आन्दोलनमा समेत महत्वपुर्ण भुमिका रहने गरेको छ । राष्ट्रिय आन्दोलनको समेत रुपन्देहीमा नेतृत्व गर्नु भएका गुरुङ एक कुशल नेताको रुपमा परिचीत हुनुहुन्छ ।
यसैगरी अध्यक्षका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएका वर्तमान उपाध्यक्ष कृष्ण मोक्तान (गुरुङ) अध्यक्षका अर्का उम्मेद्वार हुनुहुन्छ । सन्तराम चौधरी अध्यक्ष रहेको वर्तमान कार्यसमितिमा महत्वपुर्ण भूमिका निर्बाह गर्न नसकेको आरोप समेत खेप्दै आएका मोक्तानलाई अध्यक्ष सन्तरामको निस्कृयतामा उपाध्यक्षको हैसियतमा सक्रिय भएर लाग्न नसकेको आम आदिवासीहरुको आरोप छ ।
पेशाले वकील समेत रहनुभएका मोक्तानले महासंघमा तत्कालिन सचिव र अध्यक्षका बीचमा राम्रो तालमेल हुन नसकेपछि महासंघलाई अगाडी लैजान नेतृत्वदायी तथा सेतुको भुमिका खेल्नु पर्नेमा त्यसो गर्न नसकेको पनि एक महासंघका पदाधीकारीले बताउनु भयो । मोक्तानले भने समितिमा आफु भन्दा तल र माथिका नेतृत्व पङ्तीका साथीहरुका कारणले त्रुटि र कमजोरी रहेको भन्दै त्यसलाई सच्याएर जाने चाहाना आफुमा रहेको बताउनु भयो । त्यसैले आफुलाई एक कार्यकाल मौका दिनु पर्ने र गरेर पनि देखाउने संघीय एक्सप्रेससंग उहाँले दावि गर्नुभयो ।
यसबाहेक नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टा मगर पनि अध्यक्षका लागि उम्मेदवारी दिन सक्ने संभावना बढेको छ । औपचारीकरुपमा उहाँले उम्मेद्वारी घोषणा नगरेपनि अनौपचारीक रुपमा आफ्नो आवश्यक्ता महासंघमा रहेको बताउँदै आउनुभएको छ । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले उहाँलाई प्रतिनिधीको रुपमा चयन गरे÷नगरेको बाहिर सार्बजनिक नगरेता पनि विरकट्टाले भने आफ्नो पनि अध्यक्षमा दावेदारी रहन सक्ने घुमाउरो भाषामा संघीय एक्सप्रेसलाई बताउनु भयो ।
यदी विरकट्टाले अध्यक्षमा उम्मेदवारी दिनु भयो र छनौट प्रक्रिया निर्बाचनमै गयो भने छन्त्याललाई केही अप्ठेरो पर्ने संभावना देखिन्छ । नेपाल मगर संघ पर्ख र हेरको रणनीतिमा रहेको देखिन्छ भने यता पहिलेको भद्र सहमति अनुसार आफुले नै नेतृत्व पाउनु पर्नेमा दल बहादुर छन्त्याल अडिग रहनु भएको छ ।
उहाँका लागि बलियो पक्ष के देखिन्छ भने तीन वर्ष अघि (०६९ माघ ७ गते) भएको भद्र सहमतिको हस्ताक्षरकर्ता मध्येका एक प्रमुख हस्ताक्षरकर्ता दल बहादुर विरकट्टा आफै पनि रहेकाले आफैले गरेको सहमति तोडेर दल बहादुर छन्त्यालको विरुद्धमा उम्मेद्वारी दिन विरकट्टालाई नैतिक अप्ठेरो पर्ने देखिन्छ । यो अवस्थामा भने दल बहादुर छन्त्याल नै बलियो देखिन्छ । तर जनसंख्याको हिसाबले रुपन्देहीमा मगर बाहुल्यता रहेकाले महासंघको निर्णायक शक्ति भनेको मगर संघ नै रहेकाले छन्त्याल विजयी भईहालेमा पनि विरकट्टाको साथ छन्त्यालका लागि अपरिहार्य देखिन्छ ।
यसरी हेर्दा चार जना अध्यक्षका आकांक्षीहरुमा दल बहादुर छन्त्याल आउने संभावना बढी देखिन्छ भने यता राई,भूजेल,कुसवाडीया,थारु लगायतलाई मनाएर जान सकेमा गुरुङको प्रतिनीधिको रुपमा आउनु भएका धन बहादुर गुरुङ्गको पनि पल्ला भारी देखिन्छ । एकल जातीय संगठनहरुले पनि विगतको सहमति अनुसार जानु पर्छ भनेर बाहिर भने पनि एकाएक सहमति तोडेर आ–आफ्नो उम्मेदवार घोषणा गरेपछि महासंघमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन हुने पक्का जस्तै भएको छ । अन्य एकल जातीय अध्यक्षहरुले पनि वर्तमान महासंघका
अध्यक्ष,उपाध्यक्ष,सचिव लगायतले राम्रो काम गर्न नसकेकाले विगतमा जस्तो भूल गरेर नेतृत्व चयन गर्न नहुने बताउँदै आईरहनु भएका छन् । विगतमा नालायक नेतृत्व तथा पदाधीकारीहरुलाई पठाएर ठुलो गल्ति गरिसकेकाले यसबाट पाठ सिक्नु पर्ने एक एकल जातीय संगठनका अध्यक्षले बताउनु भयो । यता महासंघका अध्यक्ष सन्तराम चौधरीलाई अधिवेशन सन्दर्भमा कुरा गर्नका लागि संघीय एक्सप्रेसका संवादाताले फोन गर्दा बैठकमा भएको र पछि फोन गर्ने बताउँदै फोन राख्नुभयो ।
