गोबिन्द घर्ती
देवदह- उच्च मा.वि.को भर्ना अभियानको समय चलिरहँदा देवदहका उच्च मा.वि.हरुले प्रचार र विज्ञापन अभियानलाई तिव्र पारेका छन् । उनीहरुको प्रचार शैलीलाई देख्दा लाग्छ साँच्चै नै उनीहरुको शैक्षिक गुणस्तर अत्यन्त उच्च रहेको छ । तर वास्तविकता भने फरक देखिएको छ ।“शैक्षिक हवको रुपमा विकसित हुदै देवदह” भन्ने प्रचारवाजी व्यापक रुपमा हुदै आए पनि देवदहमा दश जोड दुई तहको शैक्षिक अवस्था भने उत्साहजनक नभएको जानकारहरु बताउँछन् ।
यहाँका सामुदायिक तथा निजी विद्यालयहरुले प्रवेशिका तह सम्मको पठनपाठनमा सन्तोष जनक नतिजा ल्याए पनि उच्च मा.वि.को नतिजा भने निराशाजनक अवस्थामा पुगेको हो । उच्च मा.वि.सञ्चालकहरुले व्यापक प्रचार–प्रसार गरी विद्यार्थी आर्कषण गर्न जुनसुकै हथकन्डा अपनाए पनि उनीहरुको शैक्षिक गुणस्तर भने न्यून रहेको पाईएको छ । सामुदायिक उच्च मा.वि. मात्र होईन निजी उच्च माविको अवस्था पनि उस्तै भेटीएको छ । निजि उच्च मा.वि.का एकाध विद्यार्थीले राम्रो नतिजा ल्याए पनि अधिकांश विद्यार्थीहरु अनुत्तीर्ण हुने गरेका छन् ।
समग्रमा देवदह क्षेत्रका उच्च मा.वि.को उत्तीर्ण नतिजा २५ प्रतिशत भन्दा कम रहेको पाईएको छ । अभिभावकहरुले यस्तो अवस्था आउनु अत्यन्त दुर्भाग्यपुर्ण भएको बताउँछन् । विद्यार्थी माग्न घर–घरमा आउने उच्च मा.वि. सञ्चालक तथा शिक्षकहरुले विद्यार्थीको नतिजालाई सन्तोषजनक बनाउन नसक्नु दुःखद विषय भएको एक जना अभिभावक बताउँछन् । नाम खुलाउन नचाहने शर्तमा उनी भन्छन्–“मेरो छोरोले अहिले स्नातक तहमा अध्ययनरत छ । उसँग निजी उच्च मा.वि.मा एकै पटक भर्ना भएको मेरो एक जना छिमेकीको छोरो अझै पनि १२ कक्षा पास गर्ने आशा बोकेर परीक्षामा सामेल भईरहेको छ ।” देवदह क्षेत्रका सामुदायिक उच्च मा.वि. मात्रै होईन निजी उच्च मा.वि.मा पनि गुणस्तरीयताको खडेरी भेटीएको छ ।
ति उच्च मा.वि.ले न्यून प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउँदै आएका छन भने पुरकमा उत्तीर्ण भएका विद्यार्थीहरुको संख्यालाई समेत गनेर उत्तिर्ण प्रतिशत सार्वजनिक गर्ने गरिएको पाईएको छ । उनीहरुको यस प्रकारको चलाखीले विद्यार्थी आर्कषित गर्न सहयोग पुगे पनि विद्यार्थीको सुन्दर भविष्य भने सुनिश्चित गर्न सकेको छैन ।
देवदहमा ४ वटा सामुदायिक तथा ३ वटा निजी उच्च मा.वि. रहेका छन् । उनीहरुले दिने गुणस्तरिय शिक्षाको अभावमा सैयौं विद्यार्थीहरु उच्च मा.वि. तहको शिक्षा हासिल गर्न वाहिरका अन्य शहरमा जाने गर्दछन् । गुणस्तरीय शिक्षा नहुनुमा पनि यी उच्च मा.वि.हरुको आफनै कारण छन् । सवै भन्दा पहिलो कारण शिक्षकलाई उचित पारिश्रमिक नदिईनु देखिएको छ । विद्यार्थीसँग उच्च मा.वि.ले वाह्रै महिनाको शुल्क लिने गर्दछ । तर शिक्षकलाई भने ज्यालादारीमा काम लगाईरहेको हुन्छ । जुन दिन शिक्षक विद्यालय हाजीर हन्छ, त्यही दिनको मात्र पारिश्रमिक उसले पाउँछ । अर्को तर्फ केही उच्च माविले शिक्षकलाई १० महिनाको मात्र तलव खुवाई रहेको छ । शिक्षकले नै श्रम अनुसारको मूल्य नपाउँदा स्वतः पठनपाठनको गुणस्तरमा कमि आउँदछ । त्यसै गरी उच्च मा.वि.ले प्रयाप्त शैक्षिक सामाग्री उपलव्ध गराएको पाईदैन ।
विद्यार्थी भर्ना अभियानमा चिल्ला र मसिना कुरा गरेर अभिभावक अल्मल्याउने काम गरे पनि त्यस अनुसारको व्यावहारिक अभ्यास उच्च मा.वि.ले गर्न सकेका छैनन् । केही उच्च मा.वि. छोडेर अधिकांश उच्च मा.वि.ले अहिलेसम्म मल्टीमिडियाको प्रयोग गरेको पाईदैन । भर्ना अभियानमा घोषणा गरेको कुनै पनि सुविधालाई उच्च मा.वि.ले उपलव्ध नगराउँदा विद्यार्थीहरुले अपेक्षित नतिजा ल्याउन नसकेको हो । समाजमा विभिन्न खालका अपराधीकरणका घटनाहरुमा उच्च मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको पाईएको छ ।
चोरी, डकैती, लुटपाट, यौनजन्य अपराध जस्ता कार्यमा त्यही तहका विद्यार्थीहरुको संलग्नता भेटीनुले त्यस तहका शिक्षक, उच्च मा.वि.सञ्चालक तथा अभिभावकहरु सचेत हुनु पर्ने हो । उच्च मा.वि.सञ्चालकहरुले त्यता तिर ध्यान पु¥याउन सकेका छैनन् । देवदहमा सञ्चालित उच्च मा.वि.हरुले सञ्जाल निर्माण गरेर विकृति विरुद्ध अभियान चलाउनु पर्ने देखिएको छ । एउटा उच्च मा.वि.ले मात्र उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा दिएर पुग्दैन । एउटै टोल छिमेकका विद्यार्थीहरु फरक उच्च मा.वि.मा अध्ययन गरी रहेका हुन्छन् ।
उनीहरुले विद्यायल समय वाहेक अन्य समय सँगै विताएका हुन्छन् । त्यस्तो अवस्थामा उनीहरु वीच हुने सहयात्रा र उठवसले उनीहरुको गुण, क्षमता र प्रवृतिलाई प्रभावित गर्ने हुन्छ । त्यस हिसाावले पनि देवदहका सवै उच्च मा.वि.ले सञ्जाल निर्माण गरी विद्यार्थीहरुको सिकाई प्रकृयालाई अझ सुदृढ बनाउन आवश्यक देखिएको छ । त्यसै गरी अन्तर उच्च मा.वि. स्तरिय विभिन्न अतिरिक्त कृयाकलापहरुको आयोजना गर्न उच्च मा.वि.ले ध्यान दिनु आवश्यक छ ।
देवदहबाट उच्च मा.वि.को अध्ययन पुरा गरी उच्च शिक्षा अध्ययन गर्दै गरेका एक जना विद्यार्थी भन्छन्–“देवदहमा रहेका उच्च मा.वि.ले अतिरिक्त कृयाकलापलाई ध्यान दिएका छैनन् । अन्तर उच्च मा.वि. स्तरिय त्यस्ता कार्यक्रमले विद्यार्थीको सिकाई प्रकृयालाई मद्धत पुग्ने थियो ।” वास्तवमा देवदहमा रहेका उच्च मा.वि.ले यी यस्ता विाष्यलाई ध्यान दिन सकेन भने देवदहको शैक्षिक उन्नतिमा अवरोध सृजना हुन सक्ने भएकाले उच्च मा.वि. सञ्चालकहरुले ध्यान दिनेकी ?
