नेपाल मगर संघ कास्कीद्वारा एसएलसी उत्तीर्ण १५५ मगर विद्यार्थी सम्मानित

Read Time:5 Minute, 57 Second

रूद्र श्रीसमगर

मगर जातिलाई कमजोर बनाउन मगरात तीन टुक्रा पारियो : रोका मगर

 पोखरा,  असार १९- नेपाल मगर संघ कास्कीले २०७२ सालको प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने कास्कीका १५५ जना मगर विद्यार्थीहरूलाई सम्मान गरेको छ । शनिबार आयोजित सम्मान कार्यक्रममा कास्कीका विभिन्न सामुदायिक तथा निजी विद्यालयबाट एसएलसी उत्तीर्ण मगर विद्यार्थीहरू सम्मानित भएका हुन् ।

 

सो अवसरमा नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरद्वारा स्थापित स्व. धनकुमारी थापामगर स्मृति अक्षयकोष–२०७२ बाट कास्की जिल्लामा मगर विद्यार्थीहरूमध्ये ३.८५ जीपीए ल्याएर सर्वोत्कृष्ट हुन सफल होमराज मगर र सेविका आलेमगर तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष–२०६८ बाट ३.८० जीपीए ल्याउने क्रमशः निशान पुनमगर र रविन रानामगर एवं ३.७५ जीपीए ल्याउने अनु रानामगरलाई छात्रवृत्तिद्वारा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले नेपालका आदिवासी मगर जातिलाई कमजोर बनाउन षड्यन्त्रमूलक तरिकाले मगरात भूमिलाई तीन टुक्रा पारिएको जिकिर गर्नुभयो । प्रदेश सिमाङ्कनका क्रममा मगर जातिलाई छिन्न भिन्न पारिएको आरोप लगाउँदै अध्यक्ष रोकाले मगरात भूमिलाई तीन टुक्रा पार्दा मगरहरूको हृदय छियाछिया भएको दाबी गर्नुभयो । अवसर पाए मगरहरूले देश चलाउन सक्ने भन्दै रोकाले देश चलाउने हैसियत मगरहरूसँग भएपनि राज्यसत्ताले सधैं मगर जातिमाथि दमन चलाएको आरोप लगाउनुभयो । वर्तमान मुलुक नेपालको पूरानो नाम नै मगरात भएको भन्दै अध्यक्ष रोकाले मगरातको अस्तित्व मेटाइए नेपालकै अस्तित्व नरहने चेतावनी समेत दिनुभयो ।

‘हाम्रो आन्दोलन अझै रोकिएको छैन, मगरात प्राप्तिको आन्दोलन जारी छ’, उहाँले भन्नुभयो, ‘जबसम्म मगरातसहितको संघीय गणतन्त्र बन्दैन, तबसम्म हामीले नयाँ संविधान स्वीकार्न सक्दैनौं ।’ एकीकृत मगरातसहितको संघीयता आफूहरूको बटमलाइन भएको भन्दै रोकाले भन्नुभयो, ‘हामीले मगरात आन्दोलनलाई सशक्त पार्न आन्तरिक तयारी गरिरहेका छौं, निकट भविष्यमा मगरात आन्दोलनले उचाइ प्राप्त गर्नेछ ।’

 कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य कृष्ण रानामगर, पूर्व महासचिव अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, पृथ्वीनारायण क्याम्पस अंग्रेजी विभागका उप–प्राध्यापक निर्मल थापामगर, जिल्ला शिक्षा कार्यालय, कास्कीका उपसचिव गगनसिंह थापामगर, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगर, एसएलसी उत्तीर्ण मगर विद्यार्थीहरूका तर्फबाट होमराज मगर र सेविका आलेमगरलगायतले आफ्नो रुचि र क्षमता अनुसार विषय रोजेर उच्च शिक्षा अघि बढाउन विद्यार्थीहरूलाई सल्लाह दिनुभएको थियो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगरले गर्नुभएको थियो भने जनसम्पर्क तथा प्रचारप्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपरथी पुनले रक्तदान गरे, ८२ युनिट रगत संकलन यसैबीच, नेपाल मगर संघ कास्कीले शनिबार बिहान गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।

 नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरका पश्चिम पृतनापति उपरथी रमेश पुनले रक्तदातालाई ब्लड ब्यागको हस्तान्तरण गरी उद्घाटन गरेको कार्यक्रममा उपरथी पुन आफैंले पनि रक्तदान गर्नुभयो । रक्तदान कार्यक्रममा नेपाली सेनाका सकल दर्जाका सिपाहीहरूको समेत उल्लेख्य उपस्थिति थियो । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगरले गर्नुभएको थियो भने कार्यक्रम संयोजक दुर्गाबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %