रुद्र श्रीसमगर
देउराली (तनहुँ), १० असार
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् देउराली तनहुँको आयोजनामा आदिवासी जनजातिका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
देउराली गाविसको आर्थिक सहयोगमा भएको कार्यक्रममा गाविस अन्तर्गतका नौ वटा वडाका करिब ६० जनाको सहभागिता रहेको थियो । देउराली–४, हिलेखर्कस्थित गाविस भवनमा भएको कार्यक्रममा देउराली गाविसमा बसोबास गर्ने गुरुङ, भुजेल र मगर आदिवासी जनजाति प्रतिनिधिहरु सहभागी थिए ।
सो अवसरमा युवा नेता लाल बहादुर गुरुङले आईएलओ १६९, संघीयता, राज्यको पुनर्संरचना र गुरुङ तथा मानव जातिको उत्पत्तिका विषयमा र पत्रकार रूद्र बहादुर श्रीसले आदिवासी जनजाति सरोकार, मगर जातिको उत्पत्ति तथा नयाँ संविधानमा समेटिएका र नसमेटिएका आदिवासी जनजाति अधिकारका विषयमा प्रशिक्षण दिएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् देउरालीका अध्यक्ष पूर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जंग गुरुङ, सचिव चन्द्र प्रकाश गुरुङ, समाजसेवी सुनाराम गुरुङ, सामाजिक परिचालिका सिर्जना गुरुङलगायतले मन्तब्य दिएका थिए ।
