रेखीराम राना
पाल्पा, जेठ २९ – सामान्य प्रशासन मन्त्री रेखा शर्माले कर्मचारी जनताप्रति उत्तरदायी र जिम्मेवार भएर जनताको सेवामा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले नयाँ परिवेश र समय अनुसार कर्मचारी बद्लिएर आफ्नो अधिकारीप्रति नभएर जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामति)को तेस्रो जिल्ला सम्मेलनको तानसेनमा उद्घाटन गर्दै मन्त्री शर्माले कर्मचारी रुपान्तरण नभएसम्म समृद्धि हासिल नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो नयाँ संविधान जारी भईसकेको अवस्थामा कर्मचारी बद्लिएर काम गर्नुपर्छ यसले मात्र देशको अवस्था, देशको समृद्धि हासिल गर्न संभब छ । मन्त्री शर्माले सङ्घीय प्रदेश अनुसार कर्मचारीको कार्यविभाजन र व्यवस्थापन गर्न लागेको भन्दै त्यसमा कर्मचारीले विनासर्त सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीको व्यवस्थापन गर्न निजामति कर्मचारी ऐन सुधार गर्ने तयारी भईरहेको जानकारी दिदैँ संविधानको मर्म अनुसार ऐन परिवर्तन हुने बताउनुभयो । समय सापेक्ष कर्मचारी ऐन परिवर्तन गर्ने तयारीमा सरकार लागेकाले त्यसमा सबै कर्मचारीहरूको आधिकारिक टेड युनियनको सहयोग रहने उहाँले अपेक्षा गर्नुभयो । विभिन्न आस्थाबाट बनेका कर्मचारी सङ्गठनहरूले राजनीति, कर्मचारी सरुवा बढुवामा मात्र होइन जनताको काम कसरी सबैभन्दा सरल र निष्पक्ष ढङ्गबाट काम गर्न सकिन्छ भनेर छलफल समेत गर्नुपर्ने सुझाउनुभयो ।
उहाँले जनताले सबैभन्दा बढी कर्मचारीतन्त्र र राजनीतिक दलको आलोचना गरेको भन्दै स्थायी सरकारको हैसियतले कर्मचारी सुध्रिनुपर्ने बताउनुभयो । जनताको करबाट तलबभत्ता खाएकाहरू जनताप्रति सबैभन्दा जिम्मेवार हुनुर्पछ उहाँले भन्नुभयो कर्मचारी कसरी जनतालाई सेवा दिन सकिन्छ भनेर प्रतिष्पर्धा गर्नुस् । सबैभन्दा कमचारीले जनताको सेवक भएर काम गर्ने सक्ने कर्मचारी मात्र जनताप्रति उत्तरदायी कर्मचारीबाट मात्र देश समृद्ध र संविधानको सफल कार्यान्वयन हुने उहाँले विस्वास गर्नुभयो । उहाँले स्थानीय निकाय नहुँदा कर्मचारीले बाध्यात्मक अवस्थामा काम गर्नुपरेको भन्दै सरकारले त्यसको मुल्याङ्कन गरिरहेको बताउनुभयो ।
उहाँले कर्मचारीलाई अहिले दिएको तलबभत्ताले पुग्ने नभएपनि जनताको अवस्था हेरेर कर्मचारीले पाएको तलबभत्तालाई उपयुक्त मान्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । यसै बिच नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)को तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा रुद्र थापा निर्वाचित हुनुभएको छ । तानसेनमा भएको सम्मेलनले उपाध्यक्षमा श्रीराम रावल, सचिवमा राजेन्द्र पौडेल, सहसचिवमा कृष्ण झेडीमगर र कोषाध्यक्षमा मोहन ज्ञवाली चयन गरेको छ । त्यस्तै सदस्यहरुमा महेश्वर अर्याल, पूर्ण रेग्मी, यमप्रसाद गौतम, भविश्वर पोखरेल, सन्तोष थापा, शिव थापा, लक्ष्मण भट्टराई, घनश्याम बस्याल रहनुभएको छ । यस्तै कर्मचारीहरुको अधिकारिक टेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी संगठनबाट यमलाल पोखरेल र इविन्द्र बस्याललाई पठाउने निर्णय भएको सल्लाहकार हरिप्रसाद बस्यालले जानकारी दिनुभयो ।
