रूद्र श्रीसमगर
पोखरा, २५ जेठ
पोखरा–१७ स्थित छोरेपाटन प्रहरी चौकीमा नवनिर्मित टेबल टेनिस बोर्डको उद्घाटन गरिएको छ ।
सोही अवसरमा छोरेपाटन प्रहरी चौकी र अस्थायी ट्राफिक प्रहरी पोष्ट छोरेपाटनको संयुक्त आयोजनामा स्थानीयबासी र प्रहरी बीच अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने विभिन्न राजनीतिक दल एवं नागरिक समाजका प्रतिनिधिहरूले प्रहरी चौकीको कार्यक्षेत्र ठूलो भएको र सो अनुसार प्रहरी जनशक्तिको कमी भएको, महतगौंडामा अस्थायी प्रहरी बिट स्थापना गर्नुपर्ने, प्रहरी गस्ती बढाउनुपर्ने, चौकीलाई सवारी साधनको आवश्यकता रहेको तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा उठेका जिज्ञासाबारे आफ्नो भनाइ राख्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं प्रहरी निरीक्षक मोहनमणि अधिकारीले समाजमा शान्ति, सुरक्षा कायम गर्नका लागि स्थानीय जनसमुदाय र प्रहरीबीचको सम्बन्ध सधैं प्रगाढ रहनुपर्ने बताए ।
आवश्यक दरबन्दी मिलान गरी जनशक्ति थप्न आफ्नो ठाउँबाट सक्दो पहल गर्ने जनाउँदै प्रहरी निरीक्षक अधिकारीले चौकीलाई आवश्यक इन्धनको व्यवस्था गर्ने समेत वचन दिए ।
अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु बहादुर पल्लीमगरले स्थानीयबासीले उठाएका गुनासालाई आफ्नो ठाउँबाट यथोचित सम्बोधन गरिने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, छोरेपाटन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णकान्त अर्यालले प्रहरीका गतिविधिबारे प्रकाश पार्दै स्थानीय जनसमुदाय र प्रहरीबीचको सहकार्यले मात्रै समाजलाई सुरक्षित एवं शान्त अनुभूति दिलाउन सकिने उल्लेख गरे । कार्यक्रमको सञ्चालन छोरेपाटन टोल सुधार समितिका अध्यक्ष धर्मराज अर्यालले गरेका थिए ।
