काठमाडौं, २७ फागुन
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सङ्घीयताका नाममा १४ वटा राजालाई स्वीकार गर्न नसकिने बताएकाछन । नेता पौडेलले ८० प्रतिशत हिन्दु भएको मुलुकमा अन्य धार्मिक सम्प्रदायलाई चोट नपुगोस् भनेर धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको मुलुकमा फेरि कुनै जाति विशेषका आधारमा प्रदेश बनाउनु भनेको अग्रगमन विरोधी कार्य हुन्छ भने ।
बाल्यावस्थामा आफ्ना बाजे र पिताले उपलब्ध गराउनुभएका पौराणिक धार्मिक पुस्तक पढ्दा आफूलाई माथिल्लो वर्गको बाहुन जाति हो अहम् आउने गरेको स्मरण गर्दै उनले नेपाली काँग्रेसको सामिप्यले समाजवाद बुझ्दै गएपछि त्यो भ्रम हटेर म कुनै वर्ग, जाति हैन केबल नेपाली र मान्छे हँु भन्ने लागेको र वास्तवमा सही त्यही नै थियो भने ।
नेता पौडेलले अहिले जातीय आधारमा सङ्घीयता बनाउने कुरा उठ्दा आफू फेरि पुरानै भ्रममा (बाहुनवाद) पुग्ने हुँकीजस्तो अनुभूति हुन थालेको पनि वताए ।
संविधानसभाका विषयगत समितिका अवधारणापत्र र प्रारम्भिक मस्यौदा विषयक साप नेपाल, ग्रामीण विकास प्रतिष्ठान र गाविस राष्ट्रिय महासङ्घद्वारा आज राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता पौडेलले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो भनेर २०४७ कै संविधानमा भनिसकेपछि अहिले आएर प्रदेश चाहिं जाति विशेषको आधारमा चाहियो भनेर किन वकालत गर्ने भन्ने प्रश्न गरे ।