काठमाडौँ, २७ फागुन
प्रधानमन्त्री झलनाथ खनाल र एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच माओवादी लडाकूको समायोजन तथा पुनःस्थापनाका लागि आवश्यक जनशक्ति आपूर्ति गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई शीर्ष नेताबीच सेना समायोजनको खाका तयार गर्न कार्यदल बनाउने सहमति पनि भएको छ । सो भेटपछि शान्ति तथा पुनःनिर्माणमन्त्री वर्षमान पुनले विशेष समितिअन्तर्गतको सचिवालयले माग गरेअनुरूप जनशक्ति आपूर्ति गर्ने र एउटा छुट्टै कार्यदल बनाएर पाँच दिनभित्र कार्ययोजना तयार गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
माओवादी लडाकू शिविरमा आवश्यक जनशक्ति खटाउने विषयमा हिजो बेलुका बसेको विशेष समितिको बैठकमा सहमति कायम हुन नसकेपछि त्यसका लागि आज दुई दलबीच कार्यदल बनाई टुङ्गो लगाउने सहमति भएको हो ।