गोविन्द घर्ती मगर
देवदह, जेठ ७ – राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान गौतम बुद्धको मावली स्थल देवदहको अवलोकन गर्नु भएको छ । २५ सय ६० औं बुद्धजयन्ती तथा लुम्विनी दिवसको अवसरमा लुम्विनीमा आउने क्रममा भगवान गौतम बुद्धको मावली स्थल देवदहको भवानीपुरको अवलोकन गर्नु भएको हो ।
बुद्धजयन्तीको अवसरमा देवदह क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको अवलोकन गर्नु भएको हो । देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको देशको राष्ट्रपतिले अवलोकन गरेको यो पहिलो पटक हो । अहिले सम्म देशका प्रमुखले देवदह क्षेत्रको अवलोकन गरेको पहिलो पटक भएको स्थानीयवासीको भनाई रहेको छ । अवलोकनको क्रममा राष्ट्रपति भण्डारीले देवदहको भवानीपुरमा रहेको मायादेवी मन्दिरमा पुजाआजा समेत गर्नु भएको थियो ।
सो अवसरमा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको राष्ट्रपति भण्डारीलाई जानकारी दिनु भएको थियो । सो अवसरमा देवदह क्षेत्रमा रहेको ऐतिहासिक स्थलहरुको संरक्षण र सम्वद्र्धको लागि नगरपालिकाले गरेको प्रगति र यसको चुनौतीको वारेमा राष्ट्रपति भण्डारीलाई अधिकृत घिमिरेले जानकारी दिनु भएको थियो ।
भगवान गौतम बुद्धको मावली स्थल देवदहमा बौद्ध दर्शन स्थानीय पाठय पुस्तकमा समावेश गर्न लागिएको अधिकृत घिमिरेले जानकारी दिनु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीलाई नगर अधिकृत घिमिरेले देवदह क्षेत्रको विकासको लागि ज्ञापनपत्र बुझाउनु भएको छ । लिलावल्वभ भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
