गोविन्द घर्ती
देवदह, जेठ १ – सहकारीहरुले आर्थिक उत्पादनको क्षेत्रमा लगानी गर्नु पर्ने राष्ट्रिय सहकारी विकास बैकका सहअध्यक्ष सरोज कुमार शर्माले बताएका छन ।
शर्माले आर्थिक विकास विना देशको विकास नहुने भएकाले सहकारीहरुले शेयर सदस्यहरुलाई मध्यनजर गर्दै योजना निर्माण गर्नुपर्नेमा जोड दिए । शर्माले देशको आर्थिक विकासमा सहकारीहरुको अहम भूमिका भएकाले शहकारी ऐन शंशोधन आवश्यक रहेको औल्याए ।
साना किसान कृषि सहकारी संस्था देवदहको १७ औं बार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै शर्माले उक्त कुरा बताएको हो । सहअध्यक्ष शर्माले सहकारीहरुले समाजलाई जोड्ने काम गरेको जिकिर गर्दै समृद्धि नेपाल निर्मााणको लागि सहकारी आन्दोलन आवश्यक रहेको बताए । शर्माले आर्थिक उपार्जन र सामाजिक विकासको लागि सहकारी आवश्यक रहेकोमा जोड दिए । शर्माले सहकारीहरुले गरिवी न्यूनिकरण गर्न तर्फ लाग्नु पर्ने बताउदै उत्पादन क्षेत्रलाई बढि जोड दिनु पर्ने बताए ।
सहकारी अध्यक्ष जयनारायण गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचन, साना किसान विकास बैक ईलाका प्रमुख शेर बहादुर चौधरी, जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्याल, देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, कोलिय बचत तथा ऋण सहकारी संस्थाका सुवकान्त न्यौपाने, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, समाजसेवी जीवलाल पराजुली, नेकपा एमालेका विद्यालक्ष्मी गुरुङ्ग, शेयर सदस्य मोतीलाल ढकाल लगायतले बोल्दै सहकारीहरु नेता मुखी नभई नीति मुखी हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष जयनारायण गौडेलले बार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक रामकृष्ण पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट पशुपालक, बृद्धबृद्धा तथा शेयर सदस्यका छोरा छोरी मध्येबाट उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार तेर्जु अर्याल तथा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष ख्यामनारायण ढकालको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
