गोविन्द घर्ती
बैषाख, २३- देवदह नगरपालिकाले आफनो तेश्रो स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रमलाई तिव्रता दिएको छ । देवदह नगरपालिकाले यही २५ गते तेश्रो स्थापना दिवस भव्यरुपले मनाउने भएको छ । सोही अनुरुप रुपन्देहीको देवदह–४, भवानीपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
भगवान गौतम बुद्धको मावली स्थल देवदहको भवानीपुरमा रहेको मायादेवी मन्दिर बरिपरी नगरपालिकाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । देवदह नगरपालिका, नेपाल नगरपालिका कर्मचारी एशोसियसन, कवडा नागरिक मञ्च, टोलसुधार समिति, महामाया भवानी उच्च मावि, कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिति, महामाया आमा समुहको संयुक्त आयोजनमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । भगवान गौतम बुद्धको मावली स्थल भवानीपुरमा रहेको मायादेवि मन्दिर परिसरमा करिव २० हजार बरावरको फुलहरु रोप्ने योजना रहेको कार्यकारी अधिकृत गणेश घिमिरेले बताउनु भयो ।
भवानीपुरलाई फुलवारी मय मनाउनको लागि नगरपालिकाले असार सम्म उक्त कार्य सम्पन्न गर्ने लक्ष्य लिएको अधिकृत घिमिरेको भनाई रहेको छ । नगरपालिकाको स्थापना दिवसको अवसरमा देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुमा समेत सरसफाईका कार्यक्रम गरिने अधिकृत घिमिरेले बताउनु भयो । सरसफाई कार्यक्रममा नगरपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
